
सर्लाही, ११ वैशाख — सर्लाहीको लालबन्दी नगरपालिकामा किशोर–किशोरीलाई लक्षित गरी रुपान्तरण जीवन उपयोगी सीप तालिम सम्पन्न भएको छ। बागमती सेवा समाज नेपाल, सर्लाहीले वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरेको “बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो” परियोजना अन्तर्गत उक्त तालिम आयोजना गरिएको हो।
वैशाख ६ गतेदेखि सुरु भएको ६ दिने प्रशिक्षक प्रशिक्षण तालिममा हरिपूर्वा नगरपालिकाका २४ जना र पर्सा गाउँपालिकाका १६ जना गरी ४० जना किशोर–किशोरीको सहभागिता रहेको थियो। तालिमको उद्देश्य बालबालिका तथा किशोर–किशोरीको समग्र विकास, सशक्तिकरण र व्यवहारिक जीवन उपयोगी सीप अभिवृद्धि गर्नु रहेको कार्यक्रम संयोजक कुमार भण्डारीले जानकारी दिनुभयो।
तालिममा बाल अधिकार, बालबालिकामाथि हुने हिंसा, लैंगिक हिंसा, यौन तथा प्रजनन स्वास्थ्य, बाल विवाह लगायतका विषय समेटिएको थियो।
समापन कार्यक्रममा हरिपूर्वा नगरपालिकाका प्रमुख विनोद साहले सिकेका सीपलाई व्यवहारमा लागू गर्दै गाउँ–समुदायमा अन्य किशोर–किशोरीलाई समेत ज्ञान बाँड्न सहभागीलाई आग्रह गर्नुभयो।
वर्ल्ड भिजन इन्टरनेसनल नेपालका संरक्षण संयोजक बालकृष्ण खडकाले तालिम बाट सिकेका कुरा आफनो र समुदायको बालबालिकामा लागू गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी बागमती सेवा समाज नेपालका कार्यक्रम प्रमुख भरत कुमार कार्कीले यस्ता तालिमले किशोर–किशोरीको क्षमता विकाससँगै जीवन रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
तालिमको सहजीकरण प्रशिक्षक पिंकी शर्मा, सुनिल महरा र सबिर साफीले गर्नुभएको थियो। सहभागी पुनिता कुमारी महतोले तालिमबाट विभिन्न व्यवहारिक सीप सिकेको बताइन् भने पिंकी कुमारी पासवानले किशोरीमाथि हुने यौनजन्य हिंसाबाट बच्ने उपाय, बाल विवाहजस्ता विषयमा उपयोगी ज्ञान प्राप्त भएको अनुभव सुनाइन्।



