प्रदेश २विचारस्थानीय

लालसलाम कमरेड 

भक्ति रिजाल
राजनीतिलाई पेशा ठान्ने र त्यसैको आडमा पैसा कमाउने पुरानो रोग आजसम्म पनि समाजमा विद्यमान छ। नेताको परिभाषा भुलेर समाजमा नैतिकताको सौदाबाजी हुने गरेका दृष्टान्त हाम्रासामु प्रसस्तै छन्। नेताको घर ठूलो हुनुपर्ने, नेताको जग्गाजमिन प्रशस्त हुनुपर्ने, नेता हुनेखाने परिवारकै हुनुपर्ने, नेता भनेका ठूला मान्छे हुन्, नेताले भनेको मान्नैपर्छ भन्ने जस्ता पुराना भ्रमपूर्ण र सामन्ती सोच र कथित अवधारणा अझै पनि हाम्रा सामु थुप्रै छन्।

अक्सर नेताहरु सुकिलामुकिला हुनैपर्ने, राम्रो र महंगो गाडी चड्नै पर्ने, भोजभतेरमा नेताको सम्मानमा फरक किसिमको तडकभडक हुनैपर्ने, तामाझाम देखिनै पर्ने जस्ता निम्न पूँजीवादी चिन्तनले ग्रस्त सामाजिक हेराइलाई अन्त्य गर्ने सोच न वामपन्थीहरुमा पाइयो, न त अन्य कुनै पार्टीले अनुसरण गरेको देखियो। विश्व कम्युनिष्ट आन्दोलनका आदर्श र मार्गदर्शकहरु चे गुयभार, काका ओचिमिन्ह, माओत्सेतुङ, फिडेल क्यास्ट्रो र गोन्जालोहरुका विचारलाई भजाउने र लत्याउने कामबाहेक धेरैजसो वापन्थी नेताहरुले पनि खासै फरक काम गरेको पाइँदैन।

पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, निर्मल लामा, मनमोहन अधिकारी लगायतका नेताबाहेक कसैले पनि आफ्नो आदर्शलाई बचाउन र जनताको बीचमा फरकपन ल्याउन सकेनन्। नेपालमा लोकतन्त्र स्थापना भएपछि त झन् नेताहरुको बिलासी जिन्दगीको बखान गरेर साध्य नै छैन। राम्रा र चिल्ला गाडीमा हुइँकिनु, तारे होटलमा मात्रै मिटिङ र छलफल चलाउनु त आजकाल नेताको आचरणजन्य समस्या बन्दै गएको छ।

नेताहरु जनआधारित, जनअपेक्षित बनेनन् भनेर जनगुनासो आइरहेका बेला सर्लाही जिल्लाको हरिवन निवासी वामपन्थी नेता कमल बुढाथोकी एक उदाहरण बनेका छन्। विचार राजनीतिबाट नै बामपन्थी झुकाव भएका बुढाथोकी सर्लाहीमा जनताका असल, सरल र भरोसायोग्य नेताका रुपमा स्थापित हुँदै गइरहेका छन्।

जनताका प्रत्यक्ष जनजीविकासँग जोडिएर मात्रै जनपक्षीय नेता भइन्छ भन्ने रुझान बोकेका बुढाथोकी गरिब, निमुखा तथा असहायहरुका दुःखसुखका सारथी बनेका छन्।

सप्तरीको राजविराजमा आइएल पढ्दादेखि नै परिपक्व विद्यार्थी नेता बनिसकेका बुढाथोकी गएको स्थानीय तहको निर्वाचनमा हरिवन नगरपालिकामा झिनो मतान्तरले मेयरमा पराजित बनेका थिए। माओवादीको सर्लाही जिल्ला सचिव बुढाथोकी ०४८ सालमै जिविस सदस्य बनेका थिए। चुनाव भनेको एउटा समयको परीक्षा मात्र हो, जुन परीक्षामा हार्दा वा जित्दा दुबै अवस्थामा जनताको पक्षमा डटेर उभिन सक्नु नेताको खुबीमा भरपर्ने बुढाथोकी बताउँछन्।

होचो कद, पातलो र छरितो ज्यान, सबैसँग ठट्यौली पारामा बोल्न मन पराउने उनको अर्को विशेषता हो। सर्लाहीमा लामो समयदेखि सुदखोरीको आतंक मच्चाउँदै आएका श्याम परदेशी, रामबाबु राय तथा सञ्जय साहका विरुद्धमा जनताको साथ र सहयोग लिएर दुई वर्षअघि बुढाथोकीले किर्ते तमसुक च्यात्ने लडाइँ लडेका थिए। बुढाथोकी नेतृत्वकै संघर्षको कारण हाल श्याम परदेशी जेलमा छन् भने जेल जीवन बिताएर रामबाबु राय भर्खरै छुटेका छन्। अर्का सामन्त सञ्जय साह भारततिर फरार छन्।
बुढाथोकीको बिहानदेखि बेलुकासम्मको समय तालिका बनाएर काम गर्छन्।

जनताका घरमा पुग्नु, जनताको समस्या बुझ्नु र समस्या समाधानका उपाय पत्ता लगाउनमै उनको दिन बित्ने गरेको छ। ‘न्याय नपाए गोरखा जानु’ भनेजस्तै अचेल जनताका समस्या समाधानको अन्तिम उपाय बुढाथोकी नै बन्ने गरेका छन्। समस्या लिएर पुग्ने जनताको उनी पार्टी हेर्दैनन्, जात हेर्दैनन्, धर्म हेर्दैनन्, धनीगरिब हेर्दैनन्। ‘न्याय सबैले पाउनुपर्छ, न्याय बिक्नु हुँदैन,’ उनी भन्छन्।

बुढाथोकी चियापसलमा भेटिँदैनन्, सार्वजनिक स्थलमा बसेर गफ गर्दैनन्, काम गरेबापत खर्च ‘फिस’ लिँदैनन्, कसैको घरमा बसेर मेजमान खाँदैनन्। जब उनी घरबाट निस्कछन्, गाउँका साना केटाकेटीदेखि लिएर अधवैंसे, वृद्धवृद्धा, नारी वा पुरुष सबैले एकसाथ सम्बोधन गर्छन्– लालसलाम कमरेड१ गाउँघरमा उनको परिचय नै लालसलाम हो। बाटोमा या घरमा रुँदै गरेका केटाकेटीहरुलेसमेत उनलाई देख्नेबित्तिकै गौरवकासाथ लालसलाम भन्छन्। घरमा खाना खाँदै गरेका हुन् या खेतबारीमा काम गर्दै गरेका किन नहुन्, बुढाथोकीको आगमनमा एकसाथ सबैको आवाज गुन्जिन्छ– लालसलाम, लालसलाम १ यो लालसलाम गाउँघरमा उनले स्थापित गरेको संस्कृति नै बनेको छ।

विशेष गरेर कम्युनिष्टले आदर्शपूर्वक सम्बोधन गर्ने शव्द हो–लासलाम। सर्लाही जिल्ला आफैँमा कम्युनिष्टहरुको उद्गम स्थल हो। चौथो महाधिवेशनको ऐतिहासिक जगलाई पथप्रदर्शक मान्दै थुप्रै कम्युनिष्ट नेताहरु सर्लाहीले उत्पादन गरेको छ। धेरै पुराना नेताहरुले सर्लाहीलाई आफ्नो कार्यक्षेत्र बनाएर काम गरेका छन्। पुष्पलाल श्रेष्ठ, निर्मल लामा, मनमोहन अधिकारी, निरञ्जन गोविन्द बैद्य, ऋषिराज देवकोटा ‘आजाद’, प्रचण्ड, मोहन बैद्य, अमिक शेरचन, लीलामणि पोखरेल लगायतले आफ्नो सेल्टर बनाएर काम गरेको सर्लाही जिल्ला आाफैँमा कम्युनिष्ट पार्टीको उद्गमस्थल मानिन्छ।

०३५ सालमा सर्लाहीको दक्षिणमा रहेको सुन्दरपुर चोहर्वाका सामन्त प्रकाशबहादुर बस्नेतको घरमा रहेको सयौँ मुरी अन्नबाली कब्जा गरेर बाँड्ने कामको नेतृत्व पनि वामपन्थीहरुले नै गरेका थिए।

सांस्कृतिक रुपान्तरण आफैँबाट सुरु गर्नुपर्छ भन्ने बुढाथोकीले आफ्ना बुवाको मृत्यु हुँदा परंपरागत ढंगले गरिने किरिया कर्म वहिष्कार गरेका थिए। उनी सादा जीवन, उच्च विचारका प्रचारक जस्तै देखिन्छन्।

मुलुकमा लोकतन्त्र आइसक्दा पनि जनताको मुहारमा हाँसो नदेखिनु, नेताहरुमा देखिएको असामान्य विलासी क्रियाकलापले गर्दा हो। अब पनि हामी सुध्रिएनौँ भने हामीलाई पछिको पुस्ताले धिकार्ने छ। अझ कम्युनिष्टहरुमा जबर्जस्त रुपमा मौलाएको सुविधाभोगी आचरणले जनताले कम्युनिष्ट नेतालाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन आउँदै छ।

कम्युनिष्टहरु जनमुखी र जनउत्तरदायी हुनुपर्नेमा झन् कलंकित हुँदै गएकोप्रति बुढाथोकीको गुनासो छ। अब एक्लैले सुधार गर्न अप्ठ्यारो भएको हुँदा सामूहिक कम्युन परिपाटी आवश्यक रहेको बुढाथोकीको बुझाइ छ।

बुवा मानबहादुर बुढाथोकी तत्कालिन सेनाका सुवेदार भएको हुँदा बुढाथोकीको बाल्यकाल फलामे अनुशासनमा बितेको थियो। कडा स्वभाव भएका कारण बुवाको सामुन्ने परिवारका कोही पनि सदस्य सितिमिति ढंगले बोल्न सक्दैनथे। यसका बाबजुध पनि बुढाथोकीमा कम्युनिष्ट मोह झाँगिदै गयो। जनपक्षीय ढंगले जनताको काम गर्दै जाँदा आज उनी समाजका आदर्श पात्र बन्न पुगेका छन्। तर, उनलाई जनताले भोट दिएर जिताएका स्थानीय तहका जनप्रतिनिधिको क्रियाकलाप, व्यवहार र आचरण देख्दा दुःख लागेर आउँछ। उनी भन्छन्, ‘जनप्रतिनिधिहरुले फोन नउठाए पुग्ने, गुनासो गर्दा छलफलमा थिएँ भनिदिए पुग्ने अवस्था छ। मेयर, उपमेयर बाक्लाबाक्ला सुनका सिक्री टल्काउँदै सभामा लाज नमानी बस्छन्।’

जनप्रतिनिधिको आवरणमा सधैँ जनतालाई झुक्याउने, धोका दिने, विकासको नाममा कमिशन खाने, सालासाली र आफन्तलाई अधिकारको दुरुपयोग गर्दै जागीर खुवाउने, विलासी बन्ने, साँझ पर्नेवित्तिकै ठेकेदारको नास्ता पाटीमा गएर महंगो सक्सी खाने, पुलिस प्रशासनको दुरुपयोग गर्ने, पदलाई भजाएर मोटाउने प्रवृतिको सधैँ उनले खुलेर विरोध गर्ने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button