११ चैत्र २०८०, आईतवार | Email:- [email protected] | [email protected]
सिकाई परियोजनाले दियो बालबालिकालाई नमूना बाल संसदीय अभ्यास सम्बन्धी तालिम – Nigrani Today
प्रदेश २समाचारसमाज

सिकाई परियोजनाले दियो बालबालिकालाई नमूना बाल संसदीय अभ्यास सम्बन्धी तालिम

सर्लाही, कार्तिक २४ गते

नेपाल संसदीय शासन प्रणाली मार्फत सञ्चालित देश हो । नेपालका लागि नयाँ नभएपनि यस प्रणालीबारे धेरैलाई थाहा नहुन सक्छ । झन् बालबालिकालाई त थाहा हुने कुरै भएन ।
यसै सन्दर्भमा संसदीय शासन प्रणाली के हो ? संसदमा राष्ट्रपति प्रधानमन्त्री, सभामुख, प्रतिपक्ष दलका नेता, मुख्य सचेतक विभिन्न विषयगत समितिहरु कसरी चुनिन्छन् ? उनीहरुको भूमिका, काम, कर्तव्य र अधिकार के के हुन् ? संसदको बैठक कसरी सञ्चालन हुन्छ ? लगायतका विषयमा बालबालिकालाई पनि जानकारी गराउने उदेश्यले सर्लाहीको लालबन्दीमा तीन दिने नमूना बाल संसदीय अभ्यास सम्बन्धी तालिम सम्पन्न गरिएको छ ।
लालबन्दीस्थित नयाँ युनाईटेड होटलमा बुधबारबाट सुरु भएको तालिम राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके) सर्लाहीका निर्देशक शिवजी प्रसाद साहको अध्यक्षता तथा हरिपुर्वा नगरपालिकाका मेयर विनोद कुमार साहको प्रमुख आतिथ्यतामा शुक्रबार समापन गरिएको थियो ।
अष्ट्रेलियन एड्को आर्थिक सहयोग तथा वल्र्डभिजन इन्टरनेशनल, आरआरपिके, ह्याण्डीक्याप इन्टरनेशनल, वल्र्ड एजुकेशन र विभिन्न ४ ओटा पालिकाको साझेदारीमा सञ्चालन भएको समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना अन्तर्गत परियोजना क्षेत्रका किशोरकिशोरीहरुलाई सहभागि गराई तालिम सञ्चालन गरेको हो ।
प्रशिक्षक रक्की प्रसाद साहले सहजीकरण गर्नुभएको तालिमका क्रममा सहभागि किशोरकिशोरीहरुले संसदको वैठक कसरी सञ्चालन हुन्छ ? त्यहाँ विद्येयकहरु कसरी पेश हुन्छन्, कसरी पास हुन्छन् ? सभामुख, उपसभामुख, प्रमुख सचेतक, संसदीय दलका नेताको भूमिका के हुन्छ ? सांसदले नागरीक र देशको जल्दोबल्दो विषयलाई संसदमा कसरी उठाउने ? लगायतका विषयमा अभ्यास गरेका थिए ।
सहभागिमध्येबाटै नमूना राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, विभिन्न मन्त्रीहरु चुनिएर संसदको नमूना अभ्यास गरेको राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले बताउनुभयो । उहाँले संसदीय अभ्यास सम्बन्धी तालिमले बालबालिकामा आफ्ना कुरा स्पष्टसँग राख्ने बानीको विकास हुने, विद्यमान निति नियम र कानून निर्माणका प्रक्रियाहरुबारे जानकारी हासिल हुने बताउनुभयो ।
त्यस्तै परियोजनाका वरिष्ठ परियोजना संयोजक आदित्य पटेलले बालबालिकाको क्षमता अभिवृभिमा यस खाले अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले बालबालिकाले आफ्ना हक अधिकारका विषयमा बोल्न, आफ्ना मागहरु राख्न समेत तालिम सहयोगीसिद्ध भएको बताउनुभयो ।
त्यस्तै राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका निर्देशक शिवजी प्रसाद साहले बालबालिकालाई नमूना संसदीय अभ्यास जस्तो महत्वपूर्ण र निकै उपयोगी तालिम सञ्चालन गर्न पाउँदा खुशि लागेको बताउनुभयो । उहाँले सबै सहभागि बालबालिकारुहरुलाई सफलतापूर्वक तालिम सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी हरिपुर्वा नगरपालिकाका मेयर विनोद कुमार साहले पनि सहभागिहरुलाई बधाई दिनुहुँदै यसखाले तालिमले बालबालिकामा सकारात्मक चेतको विकास हुने बताउनुभयो । उहाँले बालबालिकाको समग्र विकास र उनीहरुको हक अधिकारको लागि नगरपालिकाले पनि काम गरिरहेको बताउनुभयो ।
लालबन्दी स्थित नयाँ युनाईटेड होटलमा सञ्चालन भएको तालिमको समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । तालिम समापन कार्यक्रममा आफ्ना सिकाई अनुभव प्रस्तुत गर्दै नमूना संसदीय अभ्यास कार्यक्रकी सभामुख समेत बनेकी किशोरी लाडली खातुनले तालिमको विषयवस्तुमा आफूहरु सुरुमा केही अलमल भएको भएपनि विस्तारै धेरै कुरा जान्ने अवसर पाएको बताउनुभयो ।
उहाँले तालिमका विषय आफूहरुका लागि अत्यन्तै प्रभावकारी भएको र आफै पनि नमूना संसदीय अभ्यास कार्यक्रमको एकैपटक सभामुखको भूमिका निर्वाह गर्न पाउँदा निकै गर्व लागेको बताउनुभयो ।
त्यस्तै नमूना संसदको प्रधानमन्त्री बन्नुभएकी संजु यादवले यो अभ्यास र तालिमले परिस्थितिलाई कसरी नियन्त्रणमा लिने भन्ने कुरा सिकाएको बताउनुभयो । उहाँले प्रधानमन्त्री जस्तो सम्मानित र कार्यकारी पदमा बसेर भूमिका निर्वाह गर्न पाउँदा साँच्चै नै गर्भ महसुस भएको उनले बताईन् ।
समापन कार्यक्रममा वल्र्ड भिजनकी प्रतिनिधि सविना राउत, सम्बन्धित पालिकाका प्रतिनिधि, पत्रकार समेतको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.