ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय
जबरजस्ती हुने विवाह र बालविबाह अन्त्यका लागि हरिपुरमा अभिभावक सचेतता कार्यक्रम सम्पन्न

हरिपुर । जबरजस्ती हुने विवाह र बालविबाह अन्त्यका लागि सर्लाहीको हरिपुरमा अभिभावक सचेतता कार्यक्रम सम्पन्न गरिएको छ ।
बालबालिकाको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामिण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा जबर्जस्ति हुने विवाह र वालविबाह अन्त्यका लागि संचालित परियोजना अन्तरर्गत अभिभावक सचेतता कार्यक्रम आयोजना गरिएको ग्रामीण नारी उत्थान संघले जनाएको छ ।
वडास्तीय बालअधिकार समितिको आयोजनामा भएको कार्यक्रम हरिपुर २ का वडाअध्यक्ष समेत रहेका बालअधिकार समिति अध्यक्ष निलबिक्रम थापाको अध्यक्षतामा हात्तीसार खेल मैदानमा आयोजना गरिएको थियो । कार्यक्रममा सरोकारवाला निकाय इलाका प्रहरी कार्यालय हरिपुरका प्रतिनिधि, महिला बालबालिका शाखाका प्रतिनिधि, ग्रामीण नारी उत्थान संघकी सदस्य रीता न्यौपाने, फोकल पर्सन तथा संस्थाका सचिव सुर्यप्रसाद चालिसेसहित लक्षित अभिभावकहरु समेत गरी कार्यक्रममा १५० जनाको उपस्थिति रहेको परियोजना संयोजक सिर्जना बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रममा नगर स्तरीय बाल क्लवकी अध्यक्ष नव किरण गुप्ताले अभिभावकहरुलाई बाल बिबाह नगराउन आग्रह गरेकी थिईन । बाल क्लवकी अध्यक्ष गुप्ताले बालबालिकाहरुलाई बाल बिबाह नगराउनका लागि सहजिकरण समेत गरेकी छिन ।

मुलतः दलित वस्तीमा हुने बालबिवाहलाई न्यूनीकरण गर्दै अभिभावकहरुमा सचेतना अभिवृद्धि गर्ने उदेश्यले आयोजना गरिएको परियोजना संयोजक बस्नेतले बताउनुभयो । कार्यक्रमको सहजीकरण गर्नुहुँदै परियोजना संयोजक बस्नेतले जबरजस्ती हुने विवाह र बालविवाह गर्दा÷गराउँदा हुने कानूनी कार्वाही, बालविवाहले समाजमा पार्ने असर लगायतका विषयमा जानकारी प्रस्तुत गर्नुभएको परियोजनाका फिल्ड अफिसर विजय चौधरीले बताउनुभयो ।
अभिभावक सेचतता कार्यक्रमका क्रममा बालबालिकाहरुले समेत आ–आफ्ना अभिभावकलाई सचेत गराउँदै “सानै छु म बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’’ भन्दै मार्मिक भनाइहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै संस्थाका सचिव सूर्यप्रसाद चालिसेले यो सामाजिक विषय भएकोले सबैलाई समेटेर सभ्य समाज निर्माणका लागि संस्थाले अथक मेहनत गर्दै परिणाममुखी कार्यक्रमहरु सञ्चालन गर्ने र समुदायको विकासका लागि स्थानीय समुदाय पनि सचेत रहनु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै वडाअध्यक्ष निलविक्रम थापाले आफ्नो वडाभित्र कुनै पनि अभिभावकले २० बर्ष भन्दा कम उमेरका छोरा छोरीको बिवाह गराए वडाबाट पाउने सेवा सुबिधा कटौती चेतावनी दिनुभयो ।
कार्यक्रमको ब्यवस्थापनमा सकृय मनोसामाजिक परामर्शकर्ता रामेश्वर दासले सामुदायिक सचेतनाले नै मनोबैज्ञानिक रुपमा अभिभावकलाई सबल बनाउन सहयोग गर्ने बताउनुभयो ।