
चन्द्रनगर, माघ ६ गते ।। सर्लाहीको चन्द्रनगरमा स्थानीय तहमा बालबालिका र सरोकारवालाहरुबीच समावेशी शिक्षा सम्बन्धी बहस कार्यक्रम सम्पन्न भएको छ ।
बहसका क्रममा गाउँपालिकाको समावेशी शिक्षा नीति कार्यान्वयनको अवस्थाका बारेमा बालबालिकाले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरु र अन्य सरोकारवालाहरुलाई जानकारी लिने प्रयास गरेका थिए ।
अस्ट्रेलियन एडको आर्थिक सहयोग र वल्र्ड भिजन इन्टरनेटशनल नेपाल, वल्र्ड एजुकेशन, ह्याण्डी क्राफ्ट इन्टरनेशनल, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके) र चन्द्रनगर गाउँपालिकाको साझेदारीमा त्यहाँ सञ्चालित समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना अन्तर्गत भएको स्थानीय तहमा बालबालिका र सरोकारवालाबी समावेशी शिक्षा सम्बन्धी बहस कार्यक्रममा बालबालिकाहरुले खुलेर गाउँपालिका अध्यक्ष लगायतलाई प्रश्न गरेका थिए ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा चन्द्रनगरका सामुदायिक विद्यालय र मदरसाबाट सहभागि भएका बालबालिकाले शिक्षासँग सम्बन्धित रहेर गाउँपालिका अध्यक्ष महतो, उपाध्यक्ष गीतादेवी महतो, विभिन्न वडाका वडाअध्यक्षहरु र अन्य सरोकारवालाहरुलाई शिक्षा क्षेत्रको सुधार र बाल संरक्षणका सवालमा प्रश्न उत्तर गरेका थिए ।
बहस कार्यक्रमको सुरुमा सिकाई कार्यक्रमका बरिष्ठ कार्यक्रम संयोजक आदित्य पटेलले सिकाई परियोजना चन्द्रनगरसहित, ब्रह्मपुरी र पर्सा गाउँपालिका तथा हरिपुर्वा नगरपालिकामा साँढे तीन वर्षदेखि सञ्चालनमा रहेको बताए ।
उनले बालवालिकालाई निर्धक्कसँग आफ्ना प्रश्नहरु राख्न सक्षम बनाउने उदेश्यले बहस कार्यक्रम राखिएको बताए । उनले विद्यालय चलाउने सवालमा, बाल संरक्षणका सवालमा, विद्यालयलाई बालमैत्री, अपांगतामैत्री बनाउने सवालमा सरोकारवालाहरुको योजना तथा प्रतिवद्धता जाहेर गराउने उदेश्यले बहस कार्यक्रम राखिएको बताए ।
त्यसपछि सुरु भएको बहसमा अधिकांश बालबालिकाहरुले आफूहरुले पढ्ने विद्यालय कतै शिक्षक अभाव रहेको, कतै समयमा परीक्षा सञ्चालन नभएको गुनासो गरेका थिए । उनीहरुले आफूहरुले पढ्ने विद्यालय बालमैत्री, अपांगमैत्री तथा वातावरणमैत्री हुनुपर्ने, ल्याव तथा अन्य शैक्षिक सामाग्रीहरुको प्रयोगलाई प्राथमिकता दिनुपर्ने, विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षकहरुको दरबन्दी मिलान गर्नुपर्ने लगायतका विषयमा प्रश्न गरेका थिए ।
बालबालिकाले अधिकांश प्रश्न गाउँपालिका अध्यक्ष राजकुमार महतोलाई राखेका थिए । कार्यक्रममा शिक्षा शाखा प्रमुख र महिला तथा बालबालिका शाखा प्रमुखहरुको अनुपस्थितिका कारण उनीहरुले गाउँपालिका अध्यक्षलाई नै अधिकांश प्रश्न गरेका हुन् ।
जवाफमा गाउँपालिका अध्यक्ष महतोले आफूले निर्वाचित भएको दिनदेखि नै विशेषगरी शिक्षा क्षेत्रको परिवर्तनका लागि काम गरिरहेको बताए । चालू आर्थिक वर्षमा पनि शिक्षा क्षेत्रको विकासको लागि मात्रै १० करोड बजेट विनियोजन गरेको दाबी गर्दै उनले आफूहरुले लिएको नीतिले समावेशी शिक्षा प्रणालीलाई टेवा पुग्ने र त्यसले बालविवाहको अन्त्य र शिक्षामा छोरीको पहुँचलाई समेत अभिवृद्धि गर्ने बताए ।
त्यस्तै अध्यक्ष महतोले आफ्नो गाउँपालिकामा सिकाई परियोजना सञ्चालन भएदेखि गाउँपालिका भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार भएको, अभिभावकले बालबालिकाका लागि पढ्ने वातावरण बनाईदिने गरेको, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय पहूँच सम्म पुगेको जस्ता सुधारहरु भएको बताए ।
बहस कार्यक्रमलाई आरआरपिकेका संरक्षण संयोजक नागेन्द्र प्रसाद साहले औपचारिकता प्रदान गरेका थिए भने पत्रकार सोम दियालीले बहस सञ्चालन गरेका थिए । कार्यक्रम भाइरल पोष्ट दैनिक र रेडियो सर्लाही प्रत्यक्ष प्रसारण गरिएको थियो ।
सिकाई परियोजना अन्तर्गत चन्द्रनगर गाउँपालिकाका २१ ओटा सामुदायिक विद्यालय तथा ६ ओटा मदरसाहरुमा समावेशी शिक्षा सुदृढीकरण कार्यक्रम सञ्चालन भइरहेको छ । विशेषगरी विद्यालयका शिक्षकशिक्षिकाहरुलाई समावेशी शिक्षा सम्बन्धी विभिन्न तालिम तथा शैक्षिक सामाग्रहीहरु उपलब्ध गराउने, आवश्यकताका आधारमा विद्यालयहरुमा बालमैत्री तथा अपांगमैत्री भौतिक संरचना निर्माण गरि हस्तान्तरण गर्ने, अभिभावकका लागि पढाई सचेतना सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।