२७ आश्विन २०८२, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा प्रहरीले वैध रकम बरामद गरे पछि मलङ्गवामा प्रदर्शन, प्रहरीमाथि मनोमानीको आरोप – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

सर्लाहीमा प्रहरीले वैध रकम बरामद गरे पछि मलङ्गवामा प्रदर्शन, प्रहरीमाथि मनोमानीको आरोप

सर्लाही, असोज २७ — सर्लाहीको सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगरमा वैध रकमलाई ‘अवैध’ भन्दै प्रहरीले बरामद गरेको घटनापछि सोमबार दिउँसो सदरमुकाम मलङ्गवामा विरोध प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाउँदै टायर बालेर सडकमा नाराबाजी गरेका छन्।

प्रहरी चौकी त्रिभुवननगरले सोमबार दिउँसो चन्द्रनगर गाउँपालिका–५, मोहनपुरका २५ वर्षीय आलम मन्सुर र ४० वर्षीय विकाउ मन्सुरलाई बीआर–०६ बीटी–३४३६ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो। उनीहरूका साथबाट नगद पाँच लाख ४५ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

तर, स्थानीय बासिन्दा र मन्सुर परिवारले प्रहरीमाथि मनोमानीपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्। उनीहरूको भनाइअनुसार उक्त रकम विवाहको तयारीका लागि मलङ्गवास्थित कुमारी बैंकबाट झिकिएको थियो। विवाहका सामान किनमेलका क्रममा प्रहरी आएर रकम लुटपाटजस्तो शैलीमा बरामद गरेको आरोप लगाइएको छ।

मोहनपुरकी अप्सना खातुनका अनुसार, छोरीको विवाहका लागि आवश्यक किनमेल गर्न भन्दै उनले आफ्ना नातेदार आलम र विकाउ मन्सुरलाई उक्त रकम जिम्मा लगाएकी थिइन्। “हामीले कुमारी बैंकबाट पैसा झिकेका हौँ, बैंकको स्टेटमेन्ट पनि छ,” खातुनले भनिन्, “तर प्रहरीले वास्तविकता नबुझी पैसा कब्जा ग¥यो र दुई जनालाई नियन्त्रणमा लिएर भन्सारमा बुझायो।”

स्थानीयहरूले बैंक स्टेटमेन्ट देखाउँदै मलङ्गवास्थित जिविस चोकमा प्रहरी र प्रशासनविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरूले “सर्वसाधारणको वैध रकम लुट्न पाइँदैन”, “प्रहरी मनोमानी बन्द गर” जस्ता नारासहित सडक अवरुद्ध गरेका थिए।

यसैबीच, पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद साहले घटनालाई “प्रहरीको मनोमानी र दमनको नयाँ रूप” भनेर आलोचना गर्नुभयो। उहाँले भन्नुभयो, “प्रहरी सर्लाहीमा द्वन्द्व फैलाउने षड्यन्त्रमा लागेको छ। प्रमाणसहित पैसा वैध भएको देखाउँदा पनि गुण्डागर्दी शैलीमा रकम खोसेर दुई जनालाई नियन्त्रणमा लिने काम निन्दनीय छ।”

पूर्व सांसद साहका अनुसार, प्रहरीले दिनहुँ तस्करहरूसँग मिलेमतो गरेर लाखौँ रुपैयाँ उठाउने गरेको र अब सर्वसाधारणको वैध रकमलाई पनि ‘अवैध’ भन्दै जफत गर्ने नयाँ धन्दा थालेको आरोप लगाउनुभयो। “प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिँदा पनि कुनै चासो नदेखाउनु प्रशासनको मिलेमतोको सङ्केत हो,” उहाँको भनाइ छ।

सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार, “नियन्त्रणमा लिइएका व्यक्तिहरू शंकास्पद अवस्थामा ठूलो परिमाणको नगदसहित भेटिएका थिए। रकमको स्रोत तत्काल स्पष्ट पार्न नसकेपछि सो रकमसहित दुवै जनालाई जिल्ला भन्सार कार्यालयमा बुझाइएको हो।”
प्रदर्शनकारीले प्रहरीको मनोमानी बन्द गर्न, नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न र बरामद गरिएको रकम फर्काउन माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button