१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
नेपाली चेसमा अहिलेसम्मकै कान्छी महिला खेलाडी सर्लाहीकि कृपा कार्की – Nigrani Today
खेलकुदताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

नेपाली चेसमा अहिलेसम्मकै कान्छी महिला खेलाडी सर्लाहीकि कृपा कार्की

सर्लाही,६ कार्तिक । गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अनेकौँ कीर्तिमानहरू बनेका छन्। धेरै पदकको छिनोफानो भएको छ। पदक जित्न नसकेपछि एक चेस खेलाडीको अहिले चर्चा चलेको छ । उनको सहभागिता नै धेरै अर्थमा चर्चाको विषय हो।

सर्लाहीकी १३ वर्षीया कृपा कार्कीभन्दा कान्छी खेलाडी नेपाली चेसमा अहिलेसम्म भेटिएका छैनन्। कृपाले प्रतियोगितामा ४ स्कोर गरेकी छन्। क्लासिकलमा उनको यो प्रदर्शन अहिले महिला खेलाडीका माझमा तारिफयोग्य मानिएको छ। राष्ट्रिय खेलकुदकी यी कान्छी खेलाडीका बारेमा केही तथ्य छन् । उनी चेस खेलमा छनोट भएर सहभागी हुने अहिलेसम्मकै कान्छी महिला खेलाडी हुन् साथै उनी सर्लाहीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो महिला चेस खेलाडी पनि हुन् ।

कृपाको बाल्यकाल नै खेलकुदको वातावरणमा हुर्किएको थियो । कुनै समय सर्लाही जिल्ला पुरुष बुद्धिचालमा नेपालकै एक प्रभावकारी शक्ति मानिन्थ्यो । चूडामणि भट्टराई, महेश थापा, लवकुमार श्रेष्ठ र कमल श्रेष्ठ जस्ता खेलाडीका कारण सर्लाहीको राष्ट्रिय स्तरमा बुद्धिचालको भिन्न प्रभाव र छाप थियो । सर्लाहीमा कृपाका बाबु केदार कार्की पनि चेस खेल्ने गरेका थिए । उक्त समय थियो विक्रमको २०५० र २०६० को दशकको ।

केदार राम्रो खेलाडी त हुन पाएनन् तथापि चेस खेलमा उनको लगाव कायम थियो । उनी दोस्रो ब्याचका राष्ट्रिय चेस आर्बिटर भए । सोही ब्याचका आर्बिटरको नेपाली चेसमा अहिले व्यापक प्रभाव छ । केदारले २ महिना अगाडि मात्र छोरीलाई चेस सिकाउन थालेका हुन् । यसै २ महिनाको अन्तरालमा छोरीले यति छिटो प्रगति गर्न भ्याइन् कि राष्ट्रिय खेलकुदका लागि भएको मधेस प्रदेशको छनोटमा दोस्रो स्थान पाइन् उनले ।

यसभन्दा अगाडि छोरीले लुकेर चेस खेल्ने गरेकी उनी बताउँछन्। घरमा बाबुले खेलेको यदाकदा देखेकी उनले स्कुलमा खेल्न थालेपछि बाबुलाई समेत पत्तो नदिएर शिक्षकहरूको सहयोगमा जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाएकी हुन् ।

जिल्ला छनोटमा पहिलो भएपछि बाबु केदारलाई छोरीको प्रतिभाका बारे विश्वास लाग्न थालेको थियो । यो विश्वास लागेकै कारण उनले प्रदेश छनोट अगाडि भने आफैँले चेस सिकाउन थालेका हुन् । मधेस प्रदेश छनोटमा सिरहाका सञ्जिता महतोभन्दा कृपा पछाडि परेकी थिइन् । गोरखामा भएको राष्ट्रिय च्याम्पियनसिपमा भने कृपाले उनै सञ्जितालाई पनि पराजित गरिन् ।

‘राष्ट्रिय खेलकुदको अनुभव महत्वपूर्ण रह्यो । पहिलो त पढाइ हो । साथमा चेस खेललाई पनि निरन्तरता दिन्छु । यस प्रतियोगिताले हौसला बढेको छ’, कृपाले प्रतियोगिताको समाप्तिपछि भनिन् । बाबु केदार यस राष्ट्रिय प्रतियोगिताको तथ्याङ्क अझै खोज्न तल्लीन छन् ।

उनलाई पनि राष्ट्रिय खेलकुद परिषद्ले नै यसको तथ्याङ्क खोजेर कान्छा खेलाडीका बारे नयाँ योजना बनाउने र क्षमता पहिचान गरेर सहयोग गर्ने कुरामा आशा जाग्न थालेको छ। चालू प्रतियोगितामा छोरी कृपा मधेसको प्रतिनिधित्व गरिरहँदा बाबु केदार पनि सोही प्रदेशको प्रशिक्षक छन्। छोरीको यस सफलतासँगै बाबुलाई पनि अहिले धेरैले विश्वास गर्न थालेका छन् । मधेस प्रदेशमा आफ्नी छोरी एउटा प्रमुख खेलाडी हुनेमा उनी विश्वस्त छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.