५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई पत्रकार पटेलद्वारा खाद्यान्न सामग्री वितरण  – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशसमाचारसमाजस्थानीय

जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई पत्रकार पटेलद्वारा खाद्यान्न सामग्री वितरण 

 

प्रदिप कुमार दास, रौतहट ।

भदौँ १२ गते, बुधवार ।

मधेश प्रदेश अनलाईन तथा रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेशका कोषाध्यक्ष तथा युवा पत्रकार अभिमनु पटेलले आफ्नो जन्मदिनको अवसरमा गरुडा नगरपालिका वडा नम्बर ४ मा रहेको बंशीराम अनाथालय आश्रममा खाद्यान्न सामग्री वितरण गरेर विशेष योगदान पुर्‍याएका छन्। पटेलले आफ्नो जन्मोत्सवको खर्च बचाएर अनाथ बालबालिकाहरूको जीवनमा खुशी थप्ने उद्देश्यले उक्त सहयोग गरेका हुन्।

पत्रकार पटेलले हरेक वर्षझैं यस वर्ष पनि अनाथ बालबालिकाहरूको सहयोगका लागि यो महत्वपूर्ण कदम चालेका हुन्। गरुडा अनाथालयमा हाल २५ जना बालबालिकाहरू रहेका छन्, जसका न त आमा, न त बुवा, न त कुनै परिवार वा सहारा छ। यी टुहुरा बालबालिकाहरूको अनुहारमा खुशी ल्याउनका लागि पटेलले आफ्नो जन्मदिनको खर्च महँगो होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस वा अन्य ठाउँमा खर्च नगरी उनीहरूको सहयोगका लागि खाद्यान्न सामग्री वितरण गरेका छन्।

खाद्यान्न सामग्रीमा चामल, आलु, प्याज, चिनी, नुन, चिउरा, चियापत्ती, दाल, खाने तेल, फ्रुटी, डालमोट, चकलेट, मिठाइँ, सोयाबिन, अगरबत्ती, नारियल तेल, नुहाउने साबुन, कपडा धुने साबुन, कपडा धुने सरफ लगायतका सामानहरू रहेका थिए। यी सामग्रीहरू अनाथालयका संस्थापक अध्यक्ष बंशीराम प्रसाद जयसवाललाई हस्तान्तरण गरिएको थियो। जयसवालले आफ्नो छोराछोरीबाट पाएको अंशमा पर्ने जग्गा छुट्ट्याएर अनाथालयको स्थापना गरेका थिए।

पत्रकार पटेलसँगै जसपा नेपालका नेता विवेक कुमार यादव, पत्रकार अरविन्द कुमार यादव, समित कुमार यादव, हनुमत यादव, र सुभास राजा लगायतका व्यक्तिहरूको पनि यस कार्यक्रममा उपस्थिति रहेको थियो। यस सहयोगले समाजमा सकारात्मक सन्देश दिने विश्वास गरिएको छ। पटेलले भने, “समाजमा यस्तो कार्यले परिवर्तन ल्याओस् भन्ने आशा छ, र यसले मानिसहरूको मनमस्तिष्कमा गहिरो छाप छोडोस् भन्ने मेरो उद्देश्य हो।”

पत्रकार अभिमनु पटेलको यस प्रेरणादायी कार्यले समाजमा असल सन्देश प्रवाह गरेको छ, र यस्ता कदमहरू अन्य व्यक्तिहरूका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button