३१ भाद्र २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
‘मधेशको मुद्दाप्रति मधेशी दलहरुको उदासीनता किन ?’ – Nigrani Today
ताजा खबरसमाचार

‘मधेशको मुद्दाप्रति मधेशी दलहरुको उदासीनता किन ?’

काठमाडौं । मधेश जनजागरण अभियानले मधेशको मुद्दाप्रति मधेशी दलहरु असंवेदनशील र गैरजिम्मेवार भएको आरोप लगाएको छ । अभियानले मधेशी दलहरुलाई मधेशको मुद्दाप्रति गम्भीर आग्रह गर्दै खबरदारीसमेत गरेको छ ।
अभियानले आइतबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा ‘मधेशको मुद्दाप्रति मधेशी दलहरुको उदासीनता किन ?’ विषयक पत्रकार सम्मेलन गरी मधेशी दलहरुलाई खबरदारी गरेको हो ।
अभियानले पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘नेपाल सरकार र मधेशी पार्टीहरुबीच विगतमा भएका सम्झौताहरुको कार्यान्वयनमा देखिएको ढिलाइप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सम्झौता कार्यान्वयनको प्रक्रियामा देखिएको यस प्रकारको असंवेदनशीलता र गैरजिम्मेवारीले देशको संघीय लोकतान्त्रिक प्रणालीप्रतिम धेशी जनताको विश्वासमा गम्भीर असर परेको छ ।’
मधेशी समुदायका हकअधिकार सुनिश्चित गर्नका लागि सम्झौतामा उल्लेखित बुँदाहरुको समयमै कार्यान्वयन अत्यावश्यक रहेको भन्दै अभियानका नेताहरुले यी सम्झौताहरुलाई अझै पनि पूर्णरुपमा कार्यान्वयन गर्न नसक्नु मधेशी दलहरुको इच्छाशक्ति र प्रतिबद्धतामाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको टिप्पणी गरेका छन् ।
पत्रकार सम्मेलनमा अभियानका संयोजक रंजीत कुमार झाले अभियानको तर्फबाट यस विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै मधेशी दलहरुलाई सम्झौताका सबै बुँदाहरुलाई तत्काल कार्यान्वयनमा ल्याउन जोडदार माग गरेका छन् । उनले सम्झौताका बुँदाहरुमा स्पष्टरुपमा उल्लेख भएका संघीयता, समानुपातिक प्रतिनिधित्व, समावेशीकरण र मधेशी जनताका अधिकारहरुको पूर्ण सुनिश्चितताका लागि मधेशी दलहरुले तुरुन्तै आवश्यक कदम चाल्नुपर्ने आग्रह गरे ।
उनले सबै दल र सरोकारवालाहरुलाई यस विषयमा गम्भीरतापूर्वक ध्यान दिन र जनताका पक्षमा रहेको सम्झौताका बुँदाहरुलाई तत्काल कार्यान्वयनमा ल्याउन आह्वान गरेका छन् । उनले मधेशीहरु मुद्दाबाट विचलित भई ठूला दलहरुको पुच्छर भएको आरोप लगाए । ‘मधेशी दलहरु ठूलाका पुच्छर भए, सीके राउतले स्वतन्त्र मधेशको कुरा गरेका थिए, कहाँ गए स्वतन्त्र मधेश ?’ उनले आक्रोश पोख्दै भने, ‘जसपा माओवादीको पुच्छर, लोसपा कांग्रेसको पुच्छर र जनमत पार्टी एमालेको पुच्छर भएका छन् ।’
मधेशी दलले मधेशी जनताका लागि नभई आफ्नो परिवार र विदेशीका लागि काम गर्दै आएको आरोप लगाए । उनले मधेशी दलहरुले २२ जिल्लाको मधेशलाई आठ जिल्लामा सीमित गरेको आरोप लगाउँदै भने, ‘मधेशी दलहरुले मधेशी जनतासँग माफी माग्नुस्, तफाइँहरु आफ्नो व्यवहारमा सुधार ल्याउनुस्, नभए यसको परिणाम भयावह हुनेछ ।’ केही दलाल मधेशी नेताहरुका कारण मधेशको स्वाभिमान खसेको भन्दै अब मधेशी दलहरुकै विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको उनले जिकिर गरे ।
संयोजक झाले मधेशी दलका नेताहरुलाई नै मधेशवाद के हो भन्ने कुरा थाहा नभएको बताए । उनले मधेशी दलहरुका लागि मधेशवाद भनेको कांग्रेस, एमाले र माओवादी चाप्लुसी गर्ने मात्र रहेको आरोप लगाए । ‘मधेशी दलका नेताहरुलाई मधेशवादको पाठ पढाउन हामी तयार छौं । उहाँहरु सुध्रिनुहुन्छ भने सुध्रिनुस्, होइन भने आगामी परिणामका लागि तयार हुनुस्,’ उनले भने ।
यसैगरी, पत्रकार सम्मेलनमा अभियानका नेता डा.आदर्श नागवंशीले मधेशी जनता मधेशी दलबाट पनि पीडित रहेको बताएका छन् । उनले भने, ‘हामी गैरमधेशी दलहरुबाट त पीडित छँदैथियौं, मधेशी दलहरुबाट पनि पीडित हुँदै आएका छौं । हामीले मधेश जनजागरण अभियान (त्रिनेत्र)मार्फत सचेत गराउन चाहन्छौं ।’
कार्यक्रममा अभियानका नेताहरु प्रकाश कट्टारी, पंकज देव, भरत सहनी लगायतका वक्ताहरुले मधेशी दलहरुलाई सुध्रिन आग्रह गरेका छन् । ती वक्ताहरुले आगामी दिनमा मधेशी दलहरु सुध्रिएन भने ती दलहरुकै विरुद्ध मधेशमा भण्डाफोर गर्ने र आन्दोलनसमेत गर्ने चेतावनी दिएका छन् । मधेश जनजागरण अभियानले विगतमा मधेशी दलहरुले सरकारसँग गरेका सम्झौताहरुबारे स्मरणपत्र बुझाएका थिए । त्यसबारे मधेशी दलहरु कुनै किसिमको गम्भीरता नदेखाएको भन्दै पत्रकार सम्मेलन गर्न बाध्य भएको बताएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.