
महोत्तरी, २६ जेष्ठ।स्वास्थ्य संस्था ब्यवस्थापन तथा संचालन सम्बन्धी ३ दिने तालिम एकडारा गाउँपालिकामा सम्पन्न भएको छ ।
एकडारा गाउँपालिकाको आयोजना तथा एकिकृत ग्रामिण विकास समाज महोत्तरी र वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा जेष्ठ २४ गतेबाट शुरु भएको उक्त तालिम शुक्रवार समापन भएको छ ।
समापनको अवसरमा बोल्नु हुँदै एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले स्वास्थ्य संस्थालाई सेवामुखी बनाउनु पर्ने बताउनुभयो ।
“स्वास्थ्य संस्थामा आउने सेवाग्राहीहरु समस्या लिएर आउने भएकाले उनीहरुको समस्या पत्ता लगाएर समाधानको प्रयास स्वास्थ्यकर्मीहरुले गर्नु पर्छ ।” अध्यक्ष मण्डलले भन्नुभयो “सेवा प्रवाहलाई अझ चुस्त बनाएर सेवाग्राहीलाई खुशी बनाएर पठाउन सक्नु पर्छ ।”
सो अवसरमा एकडारा गाउँपालिका वडा नं. १ का अध्यक्ष मनोज मण्डल, वडा नं. २ का अध्यक्ष सखीचन्द्र यादव र वडा नं. ३ का अध्यक्ष रामविलास रायले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।
एकडारा स्वास्थ्य चौकी र भटोलिया स्वास्थ्य चौकीको स्वास्थ्य ब्यवस्थापन समितिका १८ जनाको सहभागिता रहेको उक्त तालिमको सहजीकरण एकडारा गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र मण्डल र सहसंयोजक इब्राहिम नाडाफले गर्नुभएको थियो ।
उक्त ३ दिने तालिममा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवालाई कसरी प्रभावकारी बनाउने, स्वास्थ्य संस्थाको ब्यवस्थापनलाई कसरी चुस्त र ब्यवस्थित बनाउने आदि विषयमा छलफल भएको स्वास्थ्य संयोजक मण्डलले जानकारी दिनुभयो ।