५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
विजेता खेलाडीहरूलाई नगर प्रमुख जयसवालले सम्मानित गर्दै व्यक्त गरे बधाई तथा शुभकामना  – Nigrani Today
खेलकुदताजा खबरप्रदेशमधेश प्रदेशसमाचारसमाजस्थानीय

विजेता खेलाडीहरूलाई नगर प्रमुख जयसवालले सम्मानित गर्दै व्यक्त गरे बधाई तथा शुभकामना 

 

प्रदीप कुमार दास, रौतहट ।

कार्तिक ११ गते , आईतवार ।

रौतहटको गरुडा नगरपालिकामा हिन्दुहरुको महान् पर्व वडा दशैं, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा आयोजित ‘मेयर कप प्रीमियर लिग सिजन-३’ क्रिकेट प्रतियोगिता भव्यरूपमा सम्पन्न भएको छ। नगरपालिकाको प्रत्येक वडा र आयोजक टिमको सहभागितामा कुल १० वटा टिमबीच भएको यस प्रतियोगितामा वडा नं. २ को टोलीले शानदार प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ। प्रतियोगिताको फाइनल खेलमा वडा नं. ८ को टिमले उत्कृष्ट खेल प्रदर्शन गरे तापनि उपविजेतामा सीमित हुनुपर्‍यो।

विजेता र उपविजेता टिमलाई नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले एक भव्य समारोहबीच सम्मानित गर्दै बधाई तथा शुभकामना व्यक्त गरे। उनले विजेता टिमको उपलब्धिलाई उत्साहप्रद भन्दै खेलाडीको लगनशीलता र मेहेनतलाई विशेष प्रशंसा गरे। जयसवालले खेलकुदलाई युवा पुस्ताको लागि प्रेरणादायी र अवसरदायी माध्यमको रूपमा वर्णन गर्दै भने, “यदि खेलाडीले अनुशासन र निरन्तरता कायम राखे भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नगरपालिकाको मात्रै होइन, देशको पहिचान समेत कायम गर्न सक्छन्। खेलले मित्रता, एकता र समाज सुधारको भावना बढाउने मात्र होइन, यसले खेलाडीलाई आफ्नो जीवनमा थप सफलताका अवसरहरू प्रदान गर्न सक्छ।”

मेयर कपको तेस्रो सिजनलाई सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका सम्पूर्णलाई नगर प्रमुख जयसवालले विशेष धन्यवाद व्यक्त गरे। साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको हौसला बढाउँदै उनले खेलाडी धर्मेन्द्र साहलाई ‘म्यान अफ द सिरिज’ उपाधि प्राप्त गर्न सफल भएकामा बधाई दिए। यसै गरी, नवराज सहनीलाई ‘बेस्ट बलर’, अरविन्द चौधरीलाई ‘बेस्ट ब्याट्सम्यान’ र राम किसुन मुखियालाई ‘बेस्ट फिल्डर’ घोषित गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।

नगर प्रमुख जयसवालले आफ्नो सम्बोधनमा खेलकुदको महत्वलाई जोड दिँदै भने, “खेल अनुशासन, परिश्रम र एकता सन्देश बोकेको माध्यम हो। यसलाई अघि बढाउन नगरपालिकाले निरन्तर सहयोग गर्नेछ। खेलाडीहरूले सदैव यो कुरालाई स्मरण राख्नुपर्छ कि उनीहरूले कसको लागि र केका लागि खेलिरहेका छन्। जब यो भावना खेलाडीमा कायम रहन्छ, तब उनीहरूको यात्रा सफलताको दिशामा अगाडि बढ्नेछ।”

गरुडा नगरपालिकाको सहयोग र युथ क्लब अफ रौतहटको आयोजनामा सम्पन्न भएको ‘मेयर कप प्रीमियर लिग सिजन-३’ ले नगरवासीहरूमा खेलकुदको सकारात्मक सन्देश प्रवाह गरेको छ। यस अवसरमा प्रमुख जयसवालले आगामी दिनहरूमा यस्ता प्रतियोगिताहरूलाई थप व्यावस्थित र भव्य बनाउँदै खेलाडीहरूलाई आवश्यक सहयोग र प्रोत्साहन प्रदान गरिने प्रतिबद्धता पनि जनाए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button