५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
दलीय सिण्डिकेट तोड्दै तेस्रो जनआन्दोलनमा सहभागि हुन प्रभु साहको आह्वान – Nigrani Today
ताजा खबरसमाचारस्थानीय

दलीय सिण्डिकेट तोड्दै तेस्रो जनआन्दोलनमा सहभागि हुन प्रभु साहको आह्वान

सर्लाही । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकलाई बचाउनका लागि तेस्रो जनआन्दोलनको आवश्यक्ता भएको बताएका छन् । दलीय सिण्डिकेट तोड्दै सबै बर्ग एकजुट भएर तेस्रो जनआन्दोलनमा होमिनुपर्ने आह्वान समेत उनले गरेका छन् ।

आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज सर्लाहीको रामवन बजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले मुलुकलाई जोगाउनका लागि भ्रष्ट, लुटकारी दलाल दलतन्त्रको बिरुद्धमा तेस्रो जनआन्दोलनको बिकल्प नभएको बताए ।

वर्तमान सरकार असफल भईसकेको टिप्पणी गर्दै अब आम जनताले सडकबाटै यो सरकार र व्यवस्थाको बिकल्प खोजिरहेको बताउदै लोकतन्त्रको रक्षाका लागि आम जनता सडकमा आउन खोजेको बताए ।

‘जनताले लडेर ल्याएको लोकतन्त्र दलतन्त्रले सिध्यायो । आज त्यही दलतन्त्र दुई दलले मिलेर सिध्याउन लागेका छन् । यसको विरुद्धमा हामी एकजुट हुन जरुरी छ’, आजपा अध्यक्ष साहले भने, ‘अहिले मुलुकमा भ्रष्ट, लुटेरा, अपराधीहरुको हालीमुहाली रहेको र मुलुक आर्थिक संकटबाट गुज्रिरहेको छ । तर सरकारमा भएकाहरुको कसरी लुटने भन्ने बिषयमा ध्यान केन्द्रित छ । करमाथि कर थप्ने काम गरिरहेको सरकारले राज्यको ढुकुटी लुटिसकेको छ ।’

लुटकारी दलाल दलतन्त्रले मुलुकको आर्थिक अवस्था संकटमा परेको बताउँदै उनले दलका ‘मठाधिश’ले लुट मचाएको बताए । मुलुक र जनताको पक्षमा काम गर्नुपर्ने सरकार आफ्नो गुट र समूहका लागि काम गरिरहेको आरोप उनले लगाएका छन् ।

‘अहिले दलीय लुटकारी व्यवस्था छ । यस्तो व्यवस्थाले जनताको कल्याण हुदैन् । जनताको चाहना समृद्धि रहेको छ । तर दलका मुखियाहरुले आफ्नो गुट र समूहका लागि काम गर्ने गरेका छन्’, उनले भने, ‘लोकतन्त्रमा दलको नभई आम जनताको शासन हुनुपर्ने हो । तर अहिले लुटकारी दलाल दलीय व्यवस्था छ । दलमा पनि मुख्य नेता र त्यसपछि त्यसका वरिपरि, गुट, समूह र आसेपासे मोटाउने, लुटने र संरक्षण गर्ने काम भईरहेको छ । यस्तो व्यवस्थाले जनताको चाहना पुरा हुन सक्दैन् । यो व्यवस्थाको अन्त्येष्टि गर्नैपर्छ ।’

युवा, विद्यार्थी, मजदुर, किसानका साथै सवै बर्गहरु अहिलेको भ्रष्ट, लुटकारी व्यवस्थाको बिरुद्धमा आवाज उठाउदै आएको बताउँदै उनले अब एकजुट भएर तेस्रो जनआन्दोलनमा होमिनुपर्ने आवश्यक रहेको बताए ।

आम जनताको शासन व्यवस्थाका लागि दलाल दलतन्त्र विरुद्ध ‘तेस्रो जनआन्दोलन’को उदघोष गरेका साहले त्यस यता बिभिन्न कार्यक्रम मार्फत दलाल दलतन्त्रले मुलुक समृद्ध हुन नसक्ने बताउँदै आएका छन् ।

आजपा सर्लाही जिल्ला अध्यक्ष डा.नवलकिशोर साहको अध्यक्षतामा ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ अन्तरगतको अन्तरक्रिया कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षत्रय रिता साह, समिना हुसेन, बिल्टु यादव, महासचिव त्रिभुवन साह, उपमहासचिव राजन यादव, सचिव श्रीचन मुखिया, स्थायी कमिटी सदस्य राधेश्याम साह, सुनिता साह क्रान्ति लगायतको बिशेष सहभागिता रहेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

भ्रष्टाचार बिरुद्धको मधेस यात्राको क्रममा सोमबार सर्लाहीको ब्रह्मपुरीमा आमसभा सम्पन्न भएको छ । महोत्तरीबाट सर्लाही प्रवेश गरेको यात्रा टोलीमा सहभागिलाई सर्लाहीको मलंगवा, कौडेना बजारमा भव्यस्वागत गरिएको थियो । यस्तै आज बिहान बबरगंजमा यात्राटोलीले अन्तरक्रिया एवं भेटघाट गर्नुका साथै आईटी आर्मीले परेड समेत गरेको बताइएको छ । भ्रष्टाचार बिरुद्धको मधेस यात्रा टोली आज आजपा अध्यक्ष प्रभु साहको गृहजिल्ला रौतहट पुग्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button