बालबालिका र धार्मिक अगुवाहरूको लागि मनोसामाजिक दृष्टिकोण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रदीप दास, रौतहट |
मङ्सिर ६, बिहीबार
रौतहट जिल्लाको चन्द्रपुरस्थित होटेल तराई इनको सभा हलमा अन्तर्राष्ट्रिय बालअधिकार दिवस २०२४ को अवसरमा बालबालिका र धार्मिक अगुवाहरूलाई लक्षित गरी विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम निरन नेपालको आयोजनामा र वर्ल्ड भिजन नेपालको साझेदारीमा सम्पन्न भएको हो। यस अवसरमा बालबालिकाका अधिकारहरूको संरक्षण तथा उनीहरूको समग्र मानसिक, सामाजिक र भावनात्मक विकासमा धार्मिक नेतृत्वको भूमिका सुनिश्चित गर्ने उद्देश्य राखिएको थियो।
कार्यक्रमको प्रारम्भमा आयोजक संस्थाका प्रतिनिधिहरूले बालअधिकारको महत्त्व र धार्मिक अगुवाहरूको भूमिकामाथि प्रकाश पारे। कार्यक्रमका प्रमुख वक्ता निरन नेपाल मधेश प्रदेशका कार्यक्रम अधिकृत आशिष चौधरीले धार्मिक अगुवाहरूको समाजमा रहेको प्रभावकारी भूमिकालाई जोड दिँदै भने, “धार्मिक अगुवाहरूको सकारात्मक योगदानले बालबालिकाको मानसिक स्वास्थ्य सुधार्न र उनीहरूलाई समुचित वातावरण प्रदान गर्न महत्वपूर्ण सहयोग पुर्याउन सक्छ। बालअधिकार संरक्षणका लागि सबै क्षेत्रको समन्वय अपरिहार्य छ।”
बालअधिकार संरक्षणमा केवल कानूनी व्यवस्थाले मात्र पर्याप्त नहुने भन्दै कार्यक्रमले बालबालिकाको मानसिक र सामाजिक पक्षलाई प्राथमिकतामा राखेको थियो। कार्यक्रममा सहभागी धार्मिक अगुवाहरूलाई बालअधिकारसम्बन्धी विविध परामर्श प्रदान गरिएको थियो। बालबालिकाको जीवनमा देखिने मानसिक तनाव, भावनात्मक अस्थिरता र सामाजिक दबाबहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा धार्मिक अगुवाहरूलाई प्रशिक्षित गरियो। साथै, बालबालिकाको अधिकारको संरक्षणका लागि धार्मिक नेतृत्वले कसरी समाजलाई जागरूक बनाउन सक्छ भन्ने विषयमा व्यापक छलफल गरियो।
कार्यक्रममा हिन्दू, इस्लाम र क्रिश्चियन धर्मका विभिन्न अगुवाहरूको उपस्थिति रहेको थियो। पण्डित, मौलाना, पास्टर लगायतका अगुवाहरूले बालबालिकाको समग्र विकासका लागि आफ्नो धार्मिक परिप्रेक्ष्यबाट योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे। मौलाना एवं जिल्लाध्यक्ष अनिसुर रहमानले भने, “बालबालिकाको शिक्षा ,स्वास्थ्य र सामाजिक विकासका लागि धार्मिक अगुवाहरूले आफ्नो समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ।” त्यस्तै, जिल्ला सचिव शिवशंकर पासवानले बालबालिकालाई सुरक्षित वातावरण प्रदान गर्नुपर्ने महत्त्वमा जोड दिए।
कार्यक्रममा सहभागी बालबालिकाले आफ्ना भावना र समस्याहरू व्यक्त गर्ने अवसर पाए। उनीहरूले विभिन्न चुनौतीहरूका बारेमा बोले, जसमा शिक्षाको अभाव, गरिबी र लैंगिक विभेदजस्ता विषय प्रमुख थिए। सहभागी बालबालिकाले धार्मिक अगुवाहरूबाट सकारात्मक अपेक्षा राख्दै आफूहरूको अधिकारको रक्षा हुने विश्वास व्यक्त गरे।
अन्तर्राष्ट्रिय बालअधिकार दिवसको महत्त्व झल्काउने यस कार्यक्रमले बालबालिकाको मानसिक, सामाजिक र शारीरिक विकासका लागि सम्पूर्ण समाजलाई एकजुट हुन प्रेरणा दिएको छ। निरन नेपालका प्रतिनिधिहरूले यस्ता कार्यक्रमहरूले समाजमा नयाँ सोच र सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्थानीय सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो। समापनमा, आयोजकले बालअधिकारको संरक्षणमा सबैको सहकार्य अपरिहार्य भएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजना रहेको जनाए।