प्रदीप कुमार दास, रौतहट ।
पौष ०४ गते ,बिहीबार ।
चिसो मौसमले प्रभावित गरिब, विपन्न तथा आर्थिक रुपमा कमजोर नगरवासीहरूको राहतका लागि गरुडा नगरपालिकाले सामाजिक सेवामूलक अभियानअन्तर्गत ब्ल्याङ्केट वितरणलाई निरन्तरता दिएको छ। बिहीबार गरुडा नगरपालिका अन्तर्गत वडा नं ९ का श्रीपुर र नरकटिया क्षेत्रका स्थानीयलाई न्यानो कपडा वितरण गरिएको हो।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले यस अभियानले विशेष गरी चिसोले पीडित वर्गलाई केही मात्रामा भए पनि राहत पुर्याउने उद्देश्य रहेको बताएका छन्। प्रमुख जैसवालले भने, “गरिबीको रेखामुनि रहेका परिवारहरूलाई सहयोग गर्न नगरपालिकाले थप कार्यक्रमहरूको योजना पनि बनाउँदै छ। हामीले अति गरिब तथा असहाय परिवारहरूको पहिचान गरी उनीहरूको दीर्घकालीन सहायता सुनिश्चित गर्ने योजना बनाएका छौं।”
नगरपालिकाले यसअघि पनि चिसोबाट प्रभावित वर्गलाई लक्षित गर्दै विभिन्न राहत कार्यक्रम सञ्चालन गरेको थियो। यसपटक वितरण गरिएको ब्ल्याङ्केटले विशेष गरी वृद्धवृद्धा, असहाय र दैनिक ज्याला मजदुरी गर्ने वर्गलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ। वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, वडा सदस्यहरू तथा नगरपालिकाका कर्मचारीहरूको पनि सक्रिय उपस्थिति रहेको थियो।
नगर प्रमुख जैसवालले आगामी दिनमा गरिबी निवारण र सामाजिक समावेशीकरणलाई प्राथमिकता दिँदै थप सहायता कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्। उनका अनुसार, “नगरपालिकाले अति गरिबहरूको लागि स्पष्ट मापदण्ड तयार गरी अन्य दीर्घकालीन सहयोगका कार्यक्रम सञ्चालन गर्नेछ। यो ब्ल्याङ्केट वितरण अभियान त्यसकै सुरुवात हो।”
नगरपालिकाले विभिन्न संघसंस्था र दाताहरूको सहयोगमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजना पनि अघि सारेको छ। स्थानीयबासीले पनि नगरपालिकाको यो पहलप्रति धन्यवाद व्यक्त गर्दै चिसोमा राहत महसुस भएको बताएका छन्।