शेष महलमा भगवान् सङ्कर्षणको प्राण प्रतिष्ठा गरिदै
हरेराम सङ्घीर्तन कृञ्ज, स्याङ्वाडाँडा, पत्थरकोट, लालबन्दी–१२ मा अवस्थित शेष महलमा तीन दिने भव्य समारोह आयोजना गरी भगवान् सङ्कर्षणको विग्रहको प्राण प्रतिष्ठा गरिने भएको छ । शेष महलमै आज एक पत्रकार सम्मेलन गर्दै आगामी माघ २१ गते सम्पन्नबाट सुरु हुने समारोहमा देशभरबाट ५ हजार बढीको ससहभागिता रहने जनाएको छ । पत्रकार सम्मेलनमा सङ्कर्षण यज्ञ र श्रीमद्भागवत एकाह पारायण लगायतका धार्मिक अनुष्ठानहरू हुने कार्यक्रममा सहभागि हुन आउने भक्तजनको लागि बसोवासको समेत राम्रो प्रवन्ध मिलाइएको आयोजकले जनाएको छ । चारयुगका उपास्यदेवताहरूको परम्पराअनुसार सत्ययुगमा तपस्या, त्रेतायुगमा यज्ञ, द्वापरयुगमा पूजा, र कलियुगमा हरिनाम सङ्कीर्तनको माध्यमबाट उपासना गरिनुपर्ने धार्मिक मान्यता रहेको छ । यही अनुरूप भगवान् सङ्कर्षणको विग्रह प्राण प्रतिष्ठा गर्न लागिएको हरेराम संकीर्तन कुञ्जले जनाएको छ ।
समारोहमा जानकी जीवन कृञ्ज, काठमाडौंका श्रीअनन्तप्रसाद गौतम गुरु तथा श्रीअजितप्रसाद गौतम गुरुहरूको उपस्थितिसहित श्रीमद्भागवत पारायण हुने छ । अमर अखण्ड हरिनाम सङ्घर्तन मण्डल, काभ्रेका पण्डितहरूको समेत सहभागिता रहनेछ । जयपुर, भारतका कलाकारद्वारा सिंहमरमरमा कुँदिएको यो विग्रह विश्वमै पहिलो रहेको बताइएको छ। करिब १ करोड रुपैयाँको लागतमा निर्मित शेष महल ३५ फिट अग्लो छ, जसलाई तालध्वज रथको अवधारणामा १४ स्तम्भहरूको आधारमा निर्माण गरिएको छ । शेष महलको निर्माण कार्यमा गुरु श्रीकविप्रसाद गौतमका भतिजा तथा गुरु श्री ज्योतिप्रसाद गौतममा छोरा श्रीमुरारिप्रसाद गौतमको अग्रसरता रहनुका साथै श्रद्धालु भक्तजनहरूको समेत सहयोग रहेको हरेराम संकीर्तन कुञ्ज स्याङ्वाडाँडाले जनाएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दीर्घकालमा स्याङ्वाडाँडालाई शेषधामको रूपमा विकास गर्दै वृन्दावनधामसरह तीर्थस्थल बनाउने योजना रहेको आयोजकले जनाएको छ ।