
गाईजात्रा पर्व काठमाडौंको विशेष पर्व भएपनि, हाल यसलाई मधेशमा पनि मनाउन थालिएको छ । सर्लाहीको पर्सा गाउँपालिकामा यस वर्षको गाईजात्रा पर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय बिस्पतको विशेष उपस्थितिमा आयोजित यो पर्वमा स्थानीय बासिन्दा, बालबालिका, युवा तथा ज्येष्ठ नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो ।
गाईजात्रा पर्व नेवारी समुदायको विशेष पर्व भएपनि, हाल यसलाई देशभर विभिन्न समुदायले आ–आफ्नै तरिकाले मनाउने चलन बढेको छ। पर्सा गाउँपालिकामा यो पर्वलाई सांस्कृतिक एकता र सामाजिक सद्भावको रूपमा लिइएको देखियो। कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष धिरेन्द्र राय बिस्पतले गाईजात्रा जस्तो सांस्कृतिक पर्वहरूले हाम्रो मौलिक परम्परालाई संरक्षण मात्र नगरी, समाजमा जातीय र धार्मिक एकता बढाउने महत्त्वपूर्ण माध्यमका रूपमा काम गर्ने बताउनुभयो। उहाँले विशेष गरी नयाँ पुस्तालाई आफ्नै संस्कृतिप्रति गर्व गर्न र यसलाई आगामी पुस्तासम्म पु¥याउने जिम्मेवारी लिन आग्रह गर्नुभयो।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा मनाइएको छ ।एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।