पर्सा र हरिपूर्वामा बाल क्लब संजाल गठन

बालबालिकाहरुको समग्र बिकास एवं सशक्तिकरणका लागि योगदान पु¥याउने उद्देश्यले सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा वडास्तरीय बाल क्लब संजाल गठनले तिब्रता पाएको छ । दुबै स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्नको लागि वडास्तरीय बाल क्लब संजाल गठन गर्न लागिएको पर्सा गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख चन्दा यादवले जानकारी दिनुभयो ।
वहाँका अनुसार विद्यालयमा आधारित तथा समुदायमा आधारित विभिन्न बाल क्लव, बाल समूहहरुलाई वडा स्तरमा एकीकृत र संगठित गर्नका लागि वडा स्तरीय बाल क्लव संजाल गठनलाई प्राथमिकता दिइएको छ ।
दुबै स्थानीय तहमा बिगत लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको वल्र्ड भिजन इन्टरननेसनल नेपाल र बागमती सेवा समाज नेपाल, सर्लाहीले बाल संजाल गठनमा प्राविधिक सहजीकरण गरिरहेको समेत शाखा प्रमुख यादवले बताउनुभयो ।
यसै अन्तर्गत आज चैत्र ३ गते पर्सा गाउँपालिका वडा नं. ५ को वडास्तरीय बाल क्लब संजाल एक कार्यक्रमको आयोजना गरी गठन गरिएको छ । वडा नं. ५ स्थित पब्लिक माध्यमिक विद्यालयमा आयोजना गरिएको बाल भेलाबाट ममता कुमारी यादवको अध्यक्षतामा २९ सदस्सीय वडा स्तरीय बाल क्लव संजाल गठन गरिएको हो । उक्त भेलामा वडा सदस्य शिकान्ती पासवान, पर्सा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख चन्दा यादव, पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतनारायण बैठा लगायतको उपस्थिति रहेको थियो ।
यसै गरी सोही दिन हरिपूर्वा नगरपालिका वडा नं. ७ मा समेत वडा स्तरीय बाल क्लब संजाल गठन गरिएको छ । वडा अध्यक्ष उमेश राय यादवको उपस्थितिमा आयोजना गरिएको बाल भेलाबाट ललित कुमार यादवको अध्यक्षतामा १९ सदस्सीय वडा स्तरीय बाल क्लव संजाल गठन गरिएको हो ।
वडा स्तरीय बाल क्लव संजाल गठन गरिएको उक्त बाल भेलामा बाल अधिकार, बाल संरक्षण, बाल क्लव, बला संजालको बारेमा अभिमुखीकरण गर्नुका साथै आगामी दिनमा संजालले के कस्ता गतिविधि संचालन गर्ने भन्ने बारेमा कार्य योजना समेत तर्जूमा गरिएको कुरा बागमती सेवा समाज नेपालका कार्यक्रम संयोजक कुमार भण्डारीले जानकारी दिनुभयो ।



