राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश सभापति तपेश्वर यादवको भुमिका सराहनिय

राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश सभापति तपेश्वर यादवले सिराहा–४ बाट प्रतिनिधि सभा निर्वाचन जित्दै पाँच जना पूर्व मन्त्रीस्तरका शक्तिशाली उम्मेदवारलाई पराजित गर्नुभएको छ। उहाँको जित मात्र होइन, प्रतिस्पर्धी उम्मेदवारहरूको जमानतसमेत जफत हुने गरी आएको मत परिणामलाई ऐतिहासिक जितका रूपमा हेरिएको छ।
यस जितलाई मधेश प्रदेशका मतदाताले नयाँ राजनीति, सुशासन र इमानदार नेतृत्वको पक्षमा दिएको स्पष्ट सन्देशका रूपमा विश्लेषण भइरहेको छ। लामो समयदेखि परम्परागत राजनीतिक शक्तिहरूको प्रभाव रहेको क्षेत्रमा तपेश्वर यादवको विजयलाई परिवर्तनको संकेतका रूपमा लिइएको छ।
पार्टी स्थापना भएको प्रारम्भिक समयदेखि नै तपेश्वर यादवले मधेश प्रदेशमा संगठन निर्माणका लागि निरन्तर सक्रिय भूमिका खेल्दै आउनुभएको थियो। सीमित स्रोत–साधनका बाबजुद उहाँले प्रदेशभरि पार्टीको संरचना विस्तार गर्ने, युवालाई राजनीतिमा आकर्षित गर्ने तथा मधेशका जनताका समस्यालाई राष्ट्रिय स्तरमा उठाउने काममा महत्वपूर्ण योगदान दिनुभएको जेनजी युवाहरुले बताएका छन । सभापती यादवको मधेशको भुमिका सराहनीय भएको सर्लाहीका जेनजी युवा सुनिल महतोले बताए ।
पेशाले संरचना इन्जिनियर रहनुभएका यादव भौतिक पूर्वाधार विकाससम्बन्धी विषयमा गहिरो ज्ञान र अनुभव राख्नुहुन्छ। मधेश प्रदेशको विकासका लागि सडक, पुल, भवन, सिंचाइ तथा शहरी पूर्वाधारजस्ता क्षेत्रमा दीर्घकालीन योजना आवश्यक रहेको अवस्थामा प्राविधिक ज्ञान भएको नेतृत्व महत्वपूर्ण हुने जेनजी युवा महतोले बताए ।
यही कारण आगामी मन्त्रिपरिषद् गठनका क्रममा तपेश्वर यादवलाई भौतिक पूर्वाधार वा विकाससँग सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिइनु उपयुक्त हुने अर्का जेनजी युवा मनोज यादवले धारणा व्यक्त गरे। यसले एकातिर पार्टीभित्र मेहनत र योगदानको सम्मान हुने छ भने अर्कोतर्फ मधेश प्रदेशको विकास र जनताको अपेक्षा पूरा गर्न पनि ठोस आधार तयार हुने विश्वास गरिएको छ।
त्यसैले तपेश्वर यादवलाई आगामी मन्त्रिपरिषद्मा समावेश गरी उहाँको अनुभव, विशेषज्ञता र नेतृत्व क्षमताको उपयोग गरिनु अहिलेको आवश्यकता भएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ। यसले मधेश प्रदेश मात्र नभई समग्र देशमा विकास र सुशासनको अभियानलाई अझ बलियो बनाउने अपेक्षा जेनजी युवाले गरेका छन ।



