२८ कार्तिक २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सुशीला सरकार, ओली एमाले र देउवा कांग्रेस चुनाव भाँड्न उद्धत छन् : प्रभु साह – Nigrani Today
ताजा खबर

सुशीला सरकार, ओली एमाले र देउवा कांग्रेस चुनाव भाँड्न उद्धत छन् : प्रभु साह

बुटवल, २७ कात्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार, एमाले र कांग्रेस नै चुनाव भाँड्ने गतिविधिमा लागेको भन्दै आलोचना गरेका छन् । चुनाव गराउने दायित्वमा रहेको सुशीला कार्की नेतृत्वको सरकारको तयारी चुनाव गराउनेभन्दापनि आफ्नो सत्ता लम्ब्याउने र नियन्त्रित अस्थिरता निम्त्याउनेतर्फ केन्द्रित रहेको साहको आरोप छ ।

आजपा लुम्बिनी प्रदेश कमिटीको विशेष बैठकलाई बुटवलमा आज (बिहीबार) सम्बोधन गर्दै आजपा अध्यक्ष साहले प्रजातन्त्रको हिमायती भन्ने कांग्रेस अहिले केन्द्रीय समितिको बैठकसमेत सही तवरले चलाउन नसक्नेगरि ‘कुहिरोमा हराएको काग’झैं भएको भन्दै कांग्रेसको गतिविधि पनि चुनाव हुन नदिने षड्यन्त्रतर्फउन्मुख रहेको आरोप लगाए ।

जेन–जी युवाहरुको हत्या गर्दापनि कुनै पश्च्ताप र सार्वजनिक आत्मग्लानी नगरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त चुनाव नचाहनु स्वभाविक भएपनि कांग्रेसले समेत आफूलाई ओलीको पुच्छर बनाउनु युवाहरुको बलिदानी र जेन–जी पुस्ताको त्यागप्रति ठूलो धोका भएको साहको टिप्पणी छ । नेपाली कांग्रेस विगतमा ओलीकै पिछलग्गु बन्दा भदौ २३ गते जेनजीहरुले सचेत विद्रोह गरेको कुरा कांग्रेसत्रिभ विपी कोइरालाका अनुयायीहरुले बुझ्नुपर्ने उनको सुझाव छ ।

उनले एमाले नेतृत्वको हठले मुलुकले दुर्गति भोग्नुपरेको र कलिला युवाहरुको हत्या भएको भन्दै अहिलेपनि कांग्रेसीजन ओलीको बाटोमा हिँड्न खोज्नु मुलुक र जनताको लागि ठूलो दुर्भाग्य हुने भन्दै सचेत हुन र चुनावको पक्षमा दृढताका साथ उभ्याउन सुझाव दिएका छन् । उनले प्रतिनिधिसभाको चुनाव हुन नदिनको लागि एमाले नेतृत्वले पूनःस्थापनाको नाटकमञ्चन गरेको भन्दै सचेत नेपालीले अब चुनावभन्दा अर्को बाटो नचाहेको स्मरण गराए । उनले एमाले चुनावमा जानको लागि डराएको भन्दै कांग्रेसलाई एमालेको पुच्छर भएर नहिँड्न सुझाव दिए ।

आजपा अध्यक्ष साहले जेन–जी आन्दोलनको भावना र स्पिरिटलाई वर्तमान सरकार र यसका मन्त्रीहरुले कुल्चिएको र ठूलो धोका दिएको पनि आरोप लगाए । कुलमान घिसिङले जेनजी आन्दोलनको अपहरण गरेको र सत्ताको चास्नीमा डुबेर दल खोल्ने काम गरेको भन्दै यो कदम जेनजी आन्दोलनप्रति धोका र अक्षम्य अपराध भएको साहको टिप्पणी छ ।

उनले भने, ‘यो सुशीला कार्की नेतृत्वको सरकारको जन्म कसरी भयो ? निर्दलीय सरकार बनाएको भनिएको होईन, अनि कुलमानले सरकारमा बसेर दल खोल्ने काम गरे, यो कुरा नेपाली जनताले नजिकबाट हेरिरहेका छन्, म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु–कुलमानको गतिविधिप्रति नजर राख्नुहोस, यो सरकार निर्दलीय हो भने कुलमानले शक्तिको दुरुपयोग गरेर दल खोलेको कुरा आएको छ, तत्काल बर्खास्त गर्नुहोस ।’ उनले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यक्षमतामाथि पनि प्रश्न उठाए ।

उनले गृहमन्त्रीलाई लुते र निम्छरोको संज्ञा दिए । उनले अर्यालबाट मुलुकमा शान्ति, सुव्यवस्था र अमनचयन कायम हुन नसक्ने ठोकुवा गरे । उनले गृहमन्त्रीले अहिलेसम्म जेनजी आन्दोलनमा दमन गर्ने र युवाहरुको छाति र टाउकोमा ताकि÷ताकि गोली हान्ने हत्याराहरूलाई कारबाही त परको कुरा बयानसमेत लिन नसकेको भन्दै राजीनामा मागे ।

साहले अहिलेको सरकारले मुलुकलाई सही गन्तव्यमा पुर्याउन नसक्ने र पाएको म्याण्डेटसमेत पूरा नगर्ने ठोकुवा गरे । उनले सरकारका अधिकांश मन्त्रीहरु स्टन्टमा रमाएको र निकास निकाल्नेगरि सही स्टेप चाल्न चुकेको टिप्पणी गरे । उनले जेनजी आन्दोलन नेपालको राजनीतिक इतिहासमा सही जनविद्रोह भएपनि सुशीला कार्कीहरुको कारण बदनाम र कलंकित हुने खतरा देखिएको औंल्याए । उनले अहिले देशलाई निकास दिनको लागि अन्तरिम संविधान र अन्तरिम सरकार नै भएको एकमात्र विकल्प सुझाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button