सचेतनामूलक अमिुखीकरण कार्यक्रम सम्पन्न

२०८१ मंसिर २३ मोरङ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगर र बुढीगंगा गाउँपालिकाको आयोजनामा मोरङको बुढीगंगा गाउँपालिका–१ मा २०८२ मंसिर २३ गते मोरङको बुढीगंगा गाउँपालिकामा सचेतनामूलक अमिुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
‘लैङ्गिक हिंसा, मानव अधिकार, कानूनी शासन’ विषयक अभिुमखीकरण कार्यक्रमको सहजीकरण गर्नुहुँदै इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेलले सबै प्रकारका हिंसा अन्त्य गर्न महिलाको राजनीतिक, सामाजिक र सांस्कृतिक सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित हुनुपर्ने बताउनु भयो । पोखरेलले स्वतन्त्रता, समानता, मर्यादित जीवन र समन्यायको प्रवर्धनका लागि विभेद र हिंसाका कारक तत्व पहिचान गरेर समाधान गर्न सदैव प्रयत्नशील रहनु पर्नेमा जोड दिनुभयो ।
इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जालका संयोजक तथा सहजकर्ता देबी बाँस्कोटाले सबै प्रकारका असमानताको अन्त्य गर्दै सबै वर्गलाई समान न्याय र अधिकार प्रदान गरी प्रगतिशील, शान्त र समतामूलक समाजको निर्माण गर्नु जरुरी रहेको बताउनु भयो । सदियौँदेखि आफन्त, घरपरिवार र समाजबाटै विभिन्न खाले शारीरिक, मानसिक तथा भौतिक हिंसा खेप्दै आएका महिला अहिलेको डिजिटल युगमा समेत हिंसामा परिरहेकोले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने दायित्व सबै मिलेर निर्वाह गर्नुपर्ने बताउनु भयो ।
अभिमुखीकरण अघि कार्यक्रमको उद्घाटन गर्नुहुँदै बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरले गाउँपालिकाले समान सहभागिता, सामाजिक सुरक्षा, कानुनको पालना र आर्थिक समृद्धिलाई प्राथमिकतामा राखी समतामूलक समाज निर्माणको सङ्कल्प लिएको बताउनु भयो । गाउँपालिकाको सङ्कल्प पुरा गर्न चलाइएको जागरण र सचेतना बृद्धिको अभियानमा इन्सेकको सक्रिय सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटन सत्रको अध्यक्षता गर्नुभएकी गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छेदारले असमानता, शोषण र हिंसा अन्त्य गर्दै लैङ्गिकता, लैङ्गिक हिंसा र पहिचानको मुद्दामा केन्द्रित रही परम्परागत सामाजिक व्यवस्थामा सुधार गर्नु आवश्यक रहेको बताउनु भयो । समानताको मुद्दालाई सामाजिक न्याय, सुशासन र समृद्धिसँग जोड्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सोमराज काफ्ले, वडा नम्बर २ का वडा अध्यक्ष रेवती नारायण चौधरी, वडा १ का सदस्यहरु मोहन प्रसाद खतिवडा र मिथिला आचार्य, सिडिओ नेपालकी कार्यक्रम संयोजक तुलसा आचार्य, अपाङ्ग महासंघका शोभी यादवलगायतको उपस्थिती रहेको थियो ।
बुढीगंगा गाउँपालिकाकी महिला, बालबालिका शाखा प्रमुख निश्चलता कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा नम्बर १, २, ३ र ४ को महिला समूह, आमा समूह र किशोरी गरी ५८ जनाको सहभागिता रहेको थियो ।



