ईश्वरपुरका वडा नं ४ बालविवाह मुक्त वडा घोषणा

सर्लाही । ईश्वरपुर नगरपालिका वडा नं. ४ लाई औपचारिक रूपमा बालविवाह मुक्त वडा घोषणा गरिएको छ । बालविवाह अन्त्यका लागि सञ्चालन गरिएको अभियान अन्तर्गत आवश्यक सबै प्रक्रिया र सूचकहरू पूरा भएपछि वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।
ईश्वरपुर नगरपालिका वडा नं. ४ को कार्यालय, ग्रामीण नारी उत्थान संघ तथा सेभ द चिल्ड्रेनको सहयोग र सहकार्यमा बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका २०८२ बमोजिम विभिन्न सचेतनामूलक कार्यक्रम, समुदायस्तरीय छलफल, बाल संरक्षण संयन्त्र सुदृढीकरण तथा निगरानी गतिविधिहरू सञ्चालन गरिएको थियो ।अभियानका क्रममा बालविवाहका कारण, असर र कानुनी व्यवस्थाबारे स्थानीय जनप्रतिनिधि, अभिभावक, किशोर–किशोरी, शिक्षक तथा समुदायका अगुवाहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै कार्यक्रमहरू सम्पन्न गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा नं. ४ को पूर्वमा अमुवा खोला (ईश्वरपुर वडा नं. १३), पश्चिममा ईश्वरपुर नगरपालिका वडा नं. ५, ६ र ७, उत्तरमा पूर्व–पश्चिम राजमार्ग (ईश्वरपुर वडा नं. १२) र दक्षिणमा ईश्वरपुर वडा नं. २ र ७ सम्म फैलिएको सम्पूर्ण क्षेत्रलाई आज मिति २०८२ साल पौष ११ गते शुक्रबार बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।घोषणासँगै वडाले आगामी दिनमा पनि बालविवाह हुन नदिन निरन्तर निगरानी, सचेतना तथा संरक्षणसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ । बाल अधिकार संरक्षण र सामाजिक रुपान्तरणतर्फ यो घोषणा महत्वपूर्ण उपलब्धि मानिएको छ ।



