जातन्त्र दिवसमा नारायणकाजी श्रेष्ठद्वारा शुभकामना, लोकतन्त्र र संविधान रक्षाको आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्। २००७ सालको ऐतिहासिक परिवर्तनमार्फत निरंकुश राणा शासनको अन्त्य गरी नेपाली जनताले प्रजातन्त्र स्थापना गरेको दिनलाई स्मरण गर्दै उनले ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
श्रेष्ठले लोकतान्त्रिक आन्दोलनमा सहभागी नागरिक, बेपत्ता तथा घाइते योद्धाप्रति सम्मान व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख समावेशी लोकतन्त्र, संविधान तथा राष्ट्रिय स्वाधीनताको रक्षा आजको प्रमुख दायित्व भएको बताएका छन्। “समावेशिता, समानता र सामाजिक न्याय सुनिश्चित नगरेसम्म प्रजातन्त्रले पूर्ण सार्थकता प्राप्त गर्न सक्दैन,” उनले उल्लेख गरेका छन्।
उनले उत्पीडित, उपेक्षित तथा सीमान्तकृत वर्ग–समुदायको सम्मानजनक सहभागितासहित समृद्ध र न्यायपूर्ण समाज निर्माणका लागि एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्। साथै, वर्तमान चुनौतीहरूको सामना गर्न राजनीतिक दलहरूबीच सहकार्य, राष्ट्रिय एकता र स्वाभिमानको भावना सुदृढ गर्नुपर्ने बताए।
आगामी २०८२ फागुन २१ गते हुने निर्वाचनलाई उल्लेख गर्दै उनले राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षा तथा सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यभार पूरा गर्ने दिशामा जनताले ऐतिहासिक फैसला गर्नुपर्ने धारणा राखेका छन्।



