हरिपुर्वामा एकीकृत सेवा केन्द्र स्थापना गर्ने: चन्द्रभुषण साह

सर्लाही, ८ फागुन। आम जनता पार्टीका प्रवक्ता एवं सर्लाही–२ का उम्मेदवार चन्द्रभुषण साहले पूर्वीसर्लाहीको केन्द्र हरिपुर्वामा एकीकृत सेवा केन्द्र स्थापना गरिने बताएका छन् । हरिपुर्वामा एकीकृत सेवा केन्द्र स्थापना नहुँदा यस क्षेत्रका स्थानीयले दुख व्यवहोर्नुपरेको उनले बताए ।
सर्लाहीको हरिपुर्वामा आज चुनावी सभालाई सम्बोधन गर्दै साहले जिल्लाबाट चुनाव जितेर पनि जनताको काम नगर्ने नेताहरुलाई बहिष्कार गर्नुपर्ने बताए । यहाँबाट चुनाव जित्ने तर काम नगर्ने नेतालाई मतदान गर्नुभनेको आफ्नो अधिकारको दुरुपयोग भएको उनले बताए ।
आक्रोश भावमा उनले थपे, “सर्लाहीका जनताले आफ्नो अमूल्य मत दिएर यहाँका नेताहरुलाई मुखिया, मेयर, सांसद – मन्त्री पद पदमा पुऱ्याए पनि हालसम्म जनताले कुनै सुखसुविधा किन पाउन सकेन ? नेताजीहरुको काठमाडौंमा महल त बन्यो तर जनताले आफ्नो घाउँमा मलहम किन पाएन ? यहाँको नेता स्वास्थ मन्त्री त बन्यो तर समान्य उपचार गराउन पनि हामी जनकपुर काठमाडौं कहिलेसम्म जानुपर्छ ? यहाँको नेता कृषी, सिंचाई, खानेपानी मन्त्री बनेपनि जनताले किन कुनै सुखसुविधा पाउन सकेन ?”
सर्लाहीको नयाँ पहिचान, सम्मान, समृद्धि, र श्रेष्ठताका लागी आफूले संघर्ष गर्दै आएको बताउदै उनले यसपटकको निर्वाचनमा मोबाइल छापमा मतदान गर्न अपिल गरे । चुनावी भेटघाट एवं छलफललाई तिब्रता दिएका साहले स्थानीय चमेली माईको दर्शन गर्दै आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेर चुनावी अभियानको शुभारम्भ गरेका छन् ।
‘सर्लाहीका न्यायप्रेमी, सचेत र स्वाभिमानी जनताले भ्रष्टाचार, ठगी र बेइमानी विरुद्ध सुशासन, बदलाव र विकासको पक्षमा सर्लाहीको पहिचान, सम्मान, समृद्धि र श्रेष्ठताका लागि मोबाईल छापमा मतदान गरी आम जनताको शक्ति स्थापित गर्नुहुनेछ । आम जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो । वचन पूरा गर्नु नै मेरो राजनीतिक संस्कार र दायित्व हो,’ साहले भने ।
‘अब की बार जनता सरकार’ भन्दै साहले दलतन्त्र बिरुद्धको संघर्षलाई सफल बनाउन, जनतालाई देशको मालिक बनाउन र आधुनिक नेपाल निर्माण गर्ने अभियानमा सहभागि हुनका लागि सबैलाई मोवाईलमा मतदान गर्न अपिल समेत गरेका छन् ।
स्थिरता, सुशासन, बदलाव र विकास, जनउत्तरदायी–लोकतान्त्रिक अभ्यास, सिस्टम सुधार, सुशासनको आधार, दलतन्त्र विरुद्ध आम जनताको सरकार र सर्लाहीको पहिचान, सम्मान, समृद्धि र श्रेष्ठताका लागि आफूले सर्लाही–२ बाट उम्मेदवारी दिएको उनले जनाएका छन् ।
आम जनताको शासन भ्रष्टाचार मुक्त प्रशासन, सुशासनको आधार पारदर्शी एंव जनउत्तरदायी सरकार, वितीय शोषणको अन्त्य, पीडितलाई न्याय, शून्य कर नीति, उत्पादनमा वृद्धि, फराकिलो बाटो, न खाल्डाखुल्डी, न धुलोमाटो, घर घरमा नाला, बस्ती बस्तीमा ढल, मजबूत ऊर्जा पूर्वाधार सहित निःशुल्क विद्युत, बिपत्तिमा राहत, बाली बिमा, प्राकृतिक प्रकोप राज्यको जिम्मा, सीसी क्यामेरा टोलमा, बिजुली बत्ती पोलमा लगायतका लक्ष्य सहित साह चुनावी अभियानलाई तिब्रता दिएका छन् ।



