लापरवाहीको चरम नमुना : सडक योजनाको रुख ढल्दा पत्रकार घाइते, उपचार र क्षतिपूर्तिको जोडदार माग

सर्लाही — चैत ११ गते कमला–ढल्केवर–पथलैया सडक योजनाअन्तर्गत सडक विस्तारको क्रममा चरम लापरवाहीका कारण काटिँदै गरेको रुख अचानक ढल्दा पत्रकार प्रेमनाथ पौडेल गम्भीर घाइते भएका छन्। उक्त घटनापछि नेपाल पत्रकार महासंघ सर्लाही शाखाले कडा आपत्ति जनाउँदै घाइते पत्रकारको सम्पूर्ण उपचार खर्च व्यहोर्नुका साथै उचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
महासंघका प्रतिनिधिहरूले आज कमला–ढल्केवर–पथलैया सडक योजना कार्यालय पुगेर औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाउँदै निर्माण कार्यमा भएको लापरवाहीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले यस्तो असावधानीपूर्ण र गैरजिम्मेवार कार्यले पत्रकार मात्र नभई सर्वसाधारण नागरिकको ज्यानसमेत जोखिममा पार्ने भएकाले दोषीमाथि आवश्यक कारबाही गर्न समेत माग गरेका छन्।

महासंघले जारी गरेको धारणा अनुसार निर्माण कार्यका क्रममा आधारभूत सुरक्षा मापदण्डसमेत पालना नगरी काम गर्नु अत्यन्तै गैरजिम्मेवार र निन्दनीय कार्य भएको उल्लेख गरिएको छ। “काम गर्दा अपनाउनु पर्ने न्यूनतम सुरक्षा सतर्कता नअपनाउँदा यस्तो दुःखद घटना घटेको हो,” महासंघले जनाएको छ।
घटनामा गम्भीर घाइते भएका पत्रकार पौडेल हाल उपचाररत रहेका छन्। उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै तत्काल प्रभावकारी उपचारको व्यवस्था गर्न, सम्पूर्ण उपचार खर्च योजना कार्यालयले व्यहोर्न तथा क्षतिपूर्ति उपलब्ध गराउन महासंघले स्पष्ट रूपमा माग अघि सारेको छ।
साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन निर्माण कार्यमा संलग्न निकायहरूले उच्च सतर्कता अपनाउन, सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न र मानव जीवनलाई प्राथमिकतामा राख्न महासंघले चेतावनीसमेत दिएको छ।
नेपाल पत्रकार महासंघ सर्लाहीले पत्रकारमाथि भएको यस घटनालाई गम्भीर रूपमा लिँदै सम्बन्धित निकायले माग सम्बोधन नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ।



