“क्याम्पस सुधार र गुणस्तर अभिवृद्धिमा केन्द्रित हुन्छौं” – नवनिर्वाचित अध्यक्ष यादव

सर्लाही, चैत २४ गते । सर्लाही क्याम्पस मलंगवाको सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष नागेश्वर राय यादवले क्याम्पसको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विस्तार र व्यवस्थापन सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले क्याम्पसलाई देशकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्ने लक्ष्य रहेको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा बताएका छन् ।
सर्लाही क्याम्पसद्वारा सोमबार क्याम्पसको सभाहलमा आयोजित एक औपचारिक समारोहबीच नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । गत चैत १७ गते सम्पन्न क्याम्पसको पाँचौं साधारणसभाबाट सर्वसम्मत रूपमा चयन भएका सञ्चालक समितिका अध्यक्ष नागेश्वर राय यादव तथा सदस्यहरू रमेश लाल कर्ण, सत्य प्रकाश यादव र धर्मेन्द्र यादवले सपथ लिएका छन् ।
सपथ समारोह कार्यक्रमका अध्यक्ष तथा श्री कृष्णामति देवी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक महेन्द्र लाल कर्णले नवनिर्वाचित अध्यक्ष यादवलाई सपथ ग्रहण गराएका थिए । त्यसपछि अध्यक्ष यादवले अन्य सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए ।
यसैगरी क्याम्पस प्रमुख राजेश कुमार यादवको सिफारिसमा पंकज कुमार झा र लालकिशोर भण्डारीलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको छ । उनीहरूलाई समेत अध्यक्ष यादवले सपथ ग्रहण गराएका थिए ।
सपथ ग्रहण कार्यक्रम समापनपछि अध्यक्ष यादवले औपचारिक रूपमा पदभार ग्रहण गर्दै आफ्नो कार्यकाल प्रारम्भ गरेका छन् । पदभार ग्रहणलगत्तै उनले क्याम्पस भित्र निर्माणाधीन भवनको निरीक्षण पनि गरेका थिए । निरीक्षणको क्रममा निर्माण कार्यको प्रगति, गुणस्तर र समयमै निर्माण सम्पन्न गर्ने विषयमा उनले विशेष चासो व्यक्त गरेका थिए ।
सञ्चालक समितिको कार्यकाल चार वर्षको रहने व्यवस्था छ । भने अध्यक्ष यादवको यो दोस्रो कार्यकाल हो ।
पूर्व प्रधानाध्यापक महेन्द्र लाल कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरू, सामाजिक अभियन्ता, शिक्षाविद्, जनप्रतिनिधि, प्राध्यापक, पत्रकार तथा स्थानीयवासीको उपस्थिति रहेको थियो । भने कार्यक्रमको उद्घोषण सुरेन्द्र रायले गरेका थिए ।



