मलेसियामा कार्यरत देव नारायण दासको पहलमा चार पिडित परिवारलाई आर्थिक सहयोग
प्रदिप कुमार दास, रौतहट ।
असोज ०७ गते ,सोमबार ।
रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं ९ सिसवा धमौरा निवासी देव नारायण दासको पहलमा आर्थिक रूपमा अत्यन्तै पिडित चार परिवारलाई महत्वपूर्ण आर्थिक सहयोग प्रदान गरिएको छ। मलेसियाको साम मीरकाट एसडीएन विएचडी कम्पनीमा कार्यरत दासले आफ्नो व्यक्तिगत प्रयासमार्फत यी परिवारहरूको आर्थिक समस्यालाई केही हदसम्म समाधान गर्न मद्दत पुर्याएका हुन्।
सबैभन्दा पहिले वृन्दावन नगरपालिका वडा नं ६ का लालमोहर ठाकुरको परिवारलाई सहयोग प्रदान गरिएको हो। ठाकुरका दुवै खुट्टा काटिएको र उनी आर्थिक रूपमा अत्यन्तै कमजोर अवस्थामा रहेका कारण देव नारायण दासले उनको परिवारलाई साढे दश हजार रुपैयाँ सहयोग गरेका छन्। ठाकुरको परिवारले यस सहयोगलाई जीवनयापनका लागि ठूलो राहतको रूपमा लिएको छ। ठाकुरको परिवारलाई सहयोग रकम बैंकबाट झिकेर देव नारायण दासका मामा बिरेन्द्र दास तत्माले ठाकुरको घरमै पुगेर हस्तान्तरण गरेका थिए।
त्यसैगरी, वृन्दावन नगरपालिका वडा नं ६ निवासी राजदेव दासलाई पनि सहयोग गरिएको छ। राजदेव दास मृगौला पीडित हुन् र उनको परिवार अत्यन्तै गरीब अवस्थाबाट गुज्रिरहेको छ। उनीहरूको अत्यावश्यक औषधोपचार खर्च धान्न गाह्रो भइरहेको अवस्थामा देव नारायण दासले उनीहरूलाई पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
अर्को पीडित परिवारमा वृन्दावन नगरपालिका वडा नं ५ नरकटीया की बबिता देवी पर्छिन्, जो पनि मृगौला रोगबाट ग्रस्त छिन्। बबिता देवीले आफ्नो मृगौलाको अपरेसन गरिसकेकी छन्, तर आर्थिक अभावका कारण अपरेसन पछिको थप उपचार र अन्य खर्चहरूको व्यवस्थापन गर्न समस्या भइरहेको छ। यस अवस्थालाई मध्यनजर गर्दै, देव नारायण दासले बबिताको परिवारलाई साढे नौं हजार रुपैयाँ सहयोग गरेका छन्।
यी सबै सहयोगका गतिविधिहरूको क्रममा स्थानीय सञ्चारकर्मी प्रदीप कुमार दासको समेत उपस्थिति रहेको थियो। दासले पिडित परिवारको अवस्था नजिकबाट अवलोकन गर्दै उनीहरूको पीडा र आर्थिक समस्यालाई समाजका अन्य पक्षहरूमा उजागर गर्न महत्वपूर्ण भूमिका निभाएका छन्।
समग्रमा मलेसियामा कार्यरत देव नारायण दासले आफ्नो मातृभूमिका पिडित परिवारहरूको पीडालाई महसुस गर्दै ठोस कदम उठाएका छन्। उनको यो सहयोगले पिडित परिवारहरूलाई एक प्रकारको राहत प्रदान गरेको छ भने, समाजमा यसरी व्यक्तिगत प्रयासबाट पनि कसरी सहयोग गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।