२ पुष २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गरुडा नगरपालिकामा नगर प्रहरीको नियुक्ति, शान्ति सुरक्षा सुदृढीकरणमा जोड – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशसमाचारसमाजस्थानीय

गरुडा नगरपालिकामा नगर प्रहरीको नियुक्ति, शान्ति सुरक्षा सुदृढीकरणमा जोड

प्रदीप कुमार दास, रौतहट ।

पौष ०२ गते,मंगलबार ।

रौतहट जिल्लाको गरुडा नगरपालिकाले सोमबारबाट १४ जना नगर प्रहरीलाई औपचारिक रूपमा कार्यभारमा खटाएको छ। नेपाल सरकारको संविधान २०७२ को धारा ५७ (४) र २२६ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ (१) को प्रावधान अनुसार नगरपालिकाले नगर प्रहरी गठन गरी कार्यान्वयनमा ल्याएको हो।

नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले नगर प्रहरीलाई औपचारिक रुपमा जिम्मेवारी सुम्पिँदै, उनीहरूलाई शान्ति सुरक्षाको मजबुती, नियमविपरीतका गतिविधिहरूमा निगरानी तथा कानुनी कार्यान्वयनका लागि लगनशील भएर काम गर्न निर्देशन दिएका छन्। जयसवालले नगर प्रहरीको नेतृत्वमा प्रहरी सहायक निरीक्षकलाई राख्दै २ जना प्रहरी हवल्दार, २ जना महिला प्रहरी जवान तथा १० जना पुरुष प्रहरी जवान गरी कुल १४ जनालाई तालिम प्रदान गरिएको जानकारी गराए। नगर प्रहरीलाई कानुनी दायराभित्र रहेर इमानदारीपूर्वक काम गर्न आग्रह गर्दै उनले भने, “नगर प्रहरीलाई नगरपालिकाको शान्ति सुरक्षा मजबुत बनाउन, स्थानीय जनताको हित र नगरको समुचित विकासका लागि काम गर्ने अपेक्षा गरिएको छ।”

नगर प्रहरीहरूको लागि आधारभूत तालिमको सफल समापनपछि आयोजित दीक्षान्त समारोहमा नगर प्रमुख जयसवालले नगर प्रहरीको जिम्मेवारी र कर्तव्यबारे प्रस्ट्याउँदै भने, “नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनको परिधिमा रहेर नगर प्रहरीको गठन गरिएको हो। उनीहरूले नगर भित्रका कुनै पनि अवाञ्छित गतिविधि नियन्त्रण गर्न, नियम कानुन कार्यान्वयनमा सघाउन र शान्ति सुरक्षाको वातावरण कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।”

नगर प्रमुख जयसवालले गरुडालाई एक महत्वपूर्ण व्यापारिक केन्द्रका रूपमा व्याख्या गर्दै नगर प्रहरीको आवश्यकता अझै बढेको तर्क प्रस्तुत गरे। “गरुडा नगरपालिका भौगोलिक रूपमा मध्य भागमा रहेको र व्यापारिक केन्द्रका रूपमा विकसित भइरहेको हुँदा यहाँको शान्ति सुरक्षालाई थप मजबुत बनाउन नगर प्रहरी खटाइएको हो।” उनले नगर प्रहरीलाई कुनै पनि अव्यवस्थित तथा नियमविपरीतका कार्यलाई कानुनअनुसार सिफारिस गर्नेसम्मको अधिकार दिइएको समेत बताए।

नगर प्रहरीको उपस्थितिले गरुडा नगरपालिकामा शान्ति, सुरक्षा र स्थानीय सरकारको प्रभावकारी सेवा प्रवाहमा टेवा पुर्‍याउने विश्वास गरिएको छ। नगरपालिकाको यस कदमले नगरवासीहरूमा सुरक्षा अनुभूति दिलाउने मात्र होइन, व्यापारिक गतिविधिहरूमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। नगर प्रहरीलाई दीर्घकालीन रूपमा नगरको विकास, कानुनी शासन र सुव्यवस्थित वातावरण निर्माणमा थप सशक्त र जिम्मेवार बनाउने उद्देश्य रहेको छ।

नगरपालिकाको यो प्रयासले स्थानीय सरकारको क्षमतामा थप सुधार आउने र नगर क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउने दिशामा उदाहरणीय कार्यका रूपमा हेरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button