वृन्दावनमा मेगा प्रोजेक्टहरूको शिलान्यास: शिक्षामा ३३ कोठे भवन र खानेपानीमा ओभरलोड ट्यांकी निर्माण कार्य प्रारम्भ
प्रदीप कुमार दास, रौतहट ।
माघ ०२ गते, बुधवार ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ६ स्थित श्री बतहु माध्यमिक विद्यालय हर्षाहामा शिक्षा क्षेत्रको महत्वपूर्ण परियोजना सुरु भएको छ। पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल, संविधान सभा सदस्य रामकुमार भट्टराई, स्थायी समिति सदस्य नेत्री कल्याणी खड्का, वृन्दावन नगरपालिकाका नगरप्रमुख बिनोद प्रसाद कुर्मी र विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोको नेतृत्वमा संघीय समपुरक अनुदानको सहयोगमा ५ करोड ३० लाख ५१ हजार ४१६ रुपैयाँको लागतमा निर्माण हुन लागेको साढे तीन तल्ले ३३ कोठे विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ।
शिलान्यास कार्यक्रमको प्रमुख अतिथिको रुपमा संविधान सभा सदस्य रामकुमार भट्टराई र नगरप्रमुख बिनोद प्रसाद कुर्मीले संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गरे। कार्यक्रममा उपमेयर, वडा अध्यक्षहरू, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवी, शिक्षा प्रेमी, शिक्षक, समाजसेवी तथा स्थानीय व्यक्तिहरूको उत्साहजनक उपस्थिति थियो। यो परियोजना सम्पन्न भएपछि स्थानीय विद्यार्थीहरूले गुणस्तरीय शैक्षिक वातावरण पाउने विश्वास गरिएको छ।
त्यसैगरी, वृन्दावन नगरपालिकाको वडा नम्बर ८ र ९ को सीमा क्षेत्रमा ओभरलोड पानी ट्यांकी निर्माण कार्यको पनि नगरप्रमुख कुर्मीको करकमलबाट शिलान्यास गरिएको छ। ४ करोड ७८ लाख ७७७ रुपैयाँको लागतमा निर्माण हुन लागेको यो ट्यांकीले वृन्दावन नगरपालिकाका विभिन्न वडामा शुद्ध खानेपानीको अभावलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
ओभरलोड पानी ट्यांकी शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेल, वडा नम्बर ८ का अध्यक्ष रविन्द्र साह, वडा नम्बर ९ का अध्यक्ष परवेज आलम, विभिन्न वडाका वडा अध्यक्ष र सदस्यहरू, स्थानीय भद्रभलादमी, बुद्धिजीवी तथा मिडियाका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शिलान्यास कार्यक्रममा नगरप्रमुख बिनोद प्रसाद कुर्मीले विकासका यस्ता योजनाहरूले शिक्षा र आधारभूत सुविधाको पहुँचमा सुधार ल्याउने बताए। उपमेयर संगीता राम, वडा अध्यक्षहरू, स्थानीय बुद्धिजीवी र शुभेच्छुकहरूले पनि आ-आफ्ना मन्तव्य राख्दै यी परियोजनाहरूको महत्त्वबारे प्रकाश पारे।
कार्यक्रमको सञ्चालन प्रभु पटेलले गरेका थिए। यी दुई महत्वपूर्ण शिलान्यासले वृन्दावन नगरपालिकाको समग्र विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।