२४ भाद्र २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
असह्य पीडा र गहिरो दुःख व्यक्त गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा – Nigrani Today
ताजा खबर

असह्य पीडा र गहिरो दुःख व्यक्त गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सोमबार एक वक्तव्य जारी गर्दै पदबाट राजीनामा दिएका छन्।

देशभर जेन–जी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान गएको घटनाले आफूलाई असह्य पीडा र गहिरो दुःख भएको उल्लेख गर्दै उनले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

मुख्यमन्त्री सिंहले भनेका छन्, “जनताको विश्वास र मतबाट निर्वाचित भएर जनप्रतिनिधि बन्नु मेरा लागि जीवनकै ठूलो गौरव थियो। तर नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ। नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु।”

उनले संविधानले प्रत्येक नागरिकलाई दिएको शान्तिपूर्ण आन्दोलनको अधिकारलाई सम्मान गर्ने भन्दै समस्या समाधानको बाटो संवाद, आपसी समझदारी र सहकार्यमै रहेको दृढ विश्वास व्यक्त गरेका छन्।

सिंहले मुख्यमन्त्री रहँदा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै, यो अवसर उपलब्ध गराएकोमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र सम्पूर्ण नेता–कार्यकर्ताप्रति कृतज्ञता पनि प्रकट गरेका छन्।

वक्तव्यको अन्त्यमा उनले “जय मधेश” भन्दै राजीनामा सार्वजनिक गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button