
सर्लाही जिल्लाको कोडैना गाउँपालिका वडा नम्बर–४, मोतीपुरमा बहुजन एकता पार्टी नेपालद्वारा आयोजित एक दिवसीय प्रशिक्षण कार्यक्रम बुधबार सफलतापूर्वक सम्पन्न भएको छ । पार्टी संगठन सुदृढिकरण, विचारधारात्मक प्रशिक्षण तथा आगामी राजनीतिक गतिविधिका लागि कार्यकर्तालाई सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा बहुजन एकता पार्टी नेपालका वरिष्ट नेता राजाराम पासवानको विशेष सहभागिता रहेको थियो ।
बिहानदेखि सुरु भएको कार्यक्रममा पार्टीको संगठनात्मक संरचना, बहुजन आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, वर्तमान राजनीतिक अवस्था, जनताको अधिकार, सामाजिक न्याय, समानता र समावेशी लोकतन्त्रका विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक एवम् वरिष्ट नेता राजाराम पासवानले बहुजन समुदायले भोग्दै आएका राजनीतिक, सामाजिक र आर्थिक समस्याहरूको समाधानका लागि संगठित रुपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले बहुजन एकता पार्टी नेपाल जनताको हक–अधिकारका लागि संघर्षरत पार्टी भएको उल्लेख गर्दै विचार र संगठनलाई बलियो बनाएर मात्रै दीर्घकालीन परिवर्तन सम्भव हुने बताउनुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरूले बहुजन समुदायको हकहित संरक्षण, विभेदविरुद्धको संघर्ष, शिक्षा, स्वास्थ्य, रोजगारी तथा अवसरको समान पहुँच सुनिश्चित गर्न पार्टीको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए । प्रशिक्षणमार्फत कार्यकर्ताहरूमा नयाँ उत्साह, ऊर्जा र जिम्मेवारीबोध बढेको सहभागीहरूले प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका कार्यकर्ताहरूले आ–आफ्नो क्षेत्रमा देखिएका समस्या, संगठन विस्तारको अवस्था र चुनौतीका विषयमा आ–आफ्ना धारणा राखेका थिए । त्यस अवसरमा स्थानीय तहमा पार्टी संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा आगामी चुनाव लक्षित रणनीतिबारे पनि छलफल गरिएको थियो ।
अन्त्यमा आयोजक पक्ष बहुजन एकता पार्टी नेपालका स्थानीय पदाधिकारीहरूले प्रशिक्षण कार्यक्रम पार्टीलाई वैचारिक रूपमा मजबुत बनाउने महत्वपूर्ण कदम भएको बताएका छन् । यस्ता प्रशिक्षण कार्यक्रम आगामी दिनमा जिल्लाका अन्य पालिकाहरूमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाइएको छ ।
उक्त प्रशिक्षण कार्यक्रमले सर्लाही जिल्लामा बहुजन एकता पार्टी नेपालको संगठनात्मक गतिविधि थप सक्रिय बनाउने विश्वास आयोजक तथा सहभागीले व्यक्त गरेका छन् ।



