शीतलहरका कारण लालबन्दी नगरपालिकाका सबै विद्यालय बन्द

लालबन्दी, पुस १६ – केही दिनदेखि निरन्तर बढ्दै गएको शीतलहर तथा अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै लालबन्दी नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
लालबन्दी नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार अभिभावकहरूको माग र जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीको पत्रलाई मध्यनजर गर्दै मिति २०८२/०९/१७ गतेदेखि हिउँदे विदा थप गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि विद्यालय बन्द रहने निर्णय गरिएको हो।
नगरपालिकाले चिसोबाट बालबालिकाको स्वास्थ्य जोगाउन यो निर्णय गरिएको जनाउँदै सम्बन्धित सबैमा जानकारी गराएको छ। साथै मौसमको अवस्था सामान्य भएपछि विद्यालय सञ्चालनसम्बन्धी अर्को सूचना सार्वजनिक गरिने पनि नगरपालिकाले जनाएको छ।
सूचना प्रमुख प्रशासकीय अधिकृत पिताम्बर लुइटेलद्वारा हस्ताक्षरित छ।




