सर्लाही सहित तराई मधेशमा चौरचन पर्व मनाइयो
सर्लाही,२५ भदौ । सर्लाही सहित तराई मधेशका जिल्लाहरूमा चन्द्रमाको पूजा अर्चना गरेर श्रद्धाभक्ति पूर्वक चौठचन्द ( चौरचन ) पर्व आज मनाइएको छ । प्रत्येक वर्ष भाद्र शुक्लपक्ष चौठी तिथिका दिन चौरचन पर्व मनाउने परम्परा रहेको छ ।
व्रतीले दिनभरि उपवास बसेर शुक्रवार साँझ चन्द्रमा सहितको देवी देउताको विधिपूर्वक पूजा अर्चना गरेर पर्व मनाएको चन्द्रनगर गाउँपालिकाको ब्रतालु महिलाहरुले बताए । खास गरेर आजको दिन हातमा फलफूल, दही तथा अन्य प्रकारको पक्वानहरु लिएर चन्द्रमा को दर्शन गर्नाले सबै प्रकारको मिथ्या आरोपहरूबाट मुक्त हुने जनविश्वास रहेको छ ।
आज पूजा पछि प्रसाद राखिएको डाला, फलफूल, नागरिवल, दही हातमा लिएर घरका हरेक सदस्यले चन्द्रमाको मन्त्र सहित दर्शन गर्ने चलन रहेको छ । व्रती सहित परिवारका सदस्यहरु दिन भरि नै पिडुकीया, खजुरो, गुलजामुन, खाजा बनाउने गर्दछन् । यसका साथै आज साँझ आँगनमा गाईको गोवरले लिपपोत गरेर त्यसमा अर्पन गरी त्यस माथि आसन राखेर चन्द्रमा, गणेश, कलश सहितका देवी देउँताहरुको पूजा गरिएको थियो ।
पूजामा खिरपूरी अनिवार्य रुपमा चडाइएको थियो । पूजा सकेपछि घरका सदस्यहरूलाई प्रसादको रुपमा वितरण गरेर व्रतीले आफू पनि खाने गरेकी थिइन् । यसका साथै इस्ट मित्र तथा आफन्तहरूलाई खुवाउने तथा वितरण गर्ने चलन पनि रहेको छ । यसमा प्रयोग गरिने प्रसाद सामाग्रीहरूको व्यवस्थापनमा घरका सदस्यहरु एक साता अगाडी देखि नै जुट्ने गरेका छन् ।
चौरचन पर्व धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, बारा, पर्सा, सुनसरी, मोरङ, उदयपुर लगायताका जिल्लाहरूमा भव्य रुपमा मनाइन्छ भने अन्य जिल्लाहरूमा पनि फाटफुट रुपमा मनाउने चलन रहेको छ ।
चन्द्रमाको पूजा गर्ने भएकाले नै यस पर्वलाई चौठचाँद अर्थात् चौरचन पर्व भनिन्छ । चौरचन पर्वमा व्रतीले पहिला आफै पूजापछि फलफूल लिएर चन्द्रमाको दर्शन गर्ने गर्दछन् भने त्यसपछि परिवारका सबै सदस्यले एक एक गरेर चन्द्रमाको दर्शन गर्ने चलन रहेको छ ।