१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
यौन व्यवसायको ‘हब’ बन्दै चन्द्रनिगाहपुर – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाज

यौन व्यवसायको ‘हब’ बन्दै चन्द्रनिगाहपुर

रौतहट,१० असोज । पूर्व–पश्चिम राजमार्गमै रहेको चन्द्रनिगाहपुरमा पछिल्लो समय यौन व्यवसाय बढ्दै गएको छ । स्थानीय होटल तथा रेस्टुरेन्टमा यौन व्यवसाय बढ्दै गएको स्थानीयवासी बताउँछन् । चन्द्रनिगाहपुरस्थित केही नाम चलेका होटलका अलावा अधिकांश रेस्टुरेन्ट तथा होटलमा यौन व्यवसाय निर्वाधरुपमा चलिरहे पनि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले ध्यान दिन सकेको छैन ।ईलाका प्रहरी कार्यालयकै छेउछाउमा रहेका होटलमा समेत यौन व्यवसाय निर्वाध चलेको र स्थानीय व्यापारी, नेताहरु लगायत आसपासका जिल्लाबाट समेत पुरुषहरु चन्द्रनिगाहपुरका होटलमा यौनकर्मी महिलाको ग्राहक बन्ने गरेको स्थानीय पत्रकार कृष्ण तिवारी बताउँछन् ।

महिला सुरक्षा दबाब समूहकी अध्यक्ष तथा महिला नेतृ देवकी नेपालले चन्द्रनिगाहपुरका केही रेस्टुरेन्ट तथा होटेलमा यौन व्यवसाय चरम सीमामा पुगिसकेको बताइन् । ती होटलमा हुँदै आएको देह व्यापार रोक्न प्रहरीलाई पटकपटक खबर गर्दासमेत प्रहरीले बेवास्ता गरेको उनको भनाइ छ ।मेची महाकाली बुहारी समाजको प्रदेश २ की अध्यक्ष पूजा पाठक तिमल्सिनाले यस्तो विकृतिले पूरै समाज बदनाम हुने खतरा बढेको बताइन् ।

चन्द्रनिगाहपुर निवासी उनले यस्तो विकृति समयमै नियन्त्रण नभए यो ठाउँलाई हेर्ने दृष्टिकोण नै गलत हुने खतरा औंल्याइन् ।महिला सशक्तिकरण चन्द्रनिगाहपुरकी अध्यक्ष गिता भारतीले महिलालाई देह व्यापारमा धकेलेर केही व्यापारीले पैसा कमाए पनि यसबाट पूरै समाज बदनाम हुने भएकाले त्यस्तो गतिविधि तत्काल नियन्त्रण गर्न आवाज उठाउनुपर्ने बताइन् ।

चन्द्रनिगाहपुरमा भइरहेको यौनजन्य क्रियाकलाप रोक्न स्थानीय प्रशासन तथा नियमनकारी निकायले तत्काल पहल नगरे हजारौं महिला सडक संघर्षमा उत्रने उनको चेतावनी छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी विनोद घिमिरेले चन्द्रनिगाहपुरमा देहव्यापार भइरहेकोबारे आफूलाई जानकारी नभएको बताए । उनले त्यस्तो गतिविधि जारी रहेको हो भने आफूले स्थानीय प्रहरीलाई तत्काल नियन्त्रणका लागि निर्देशन दिने उनको भनाइ छ ।स्रोत ः रातोपाटी ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.