३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सामुदायिक र साझेदारी वनको सिमाना विवाद – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सामुदायिक र साझेदारी वनको सिमाना विवाद

प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले गरायो सरोकारवालाहरुबीच छलफल

सोम दियाली, लालबन्दी
माघ ९ गते, आइतबार ।। सर्लाहीको लालबन्दीस्थित बाहुनीदेवी सामुदायिक वन उपभोक्ता समूह र लालबन्दी साझेदारी वन व्यवस्थापन समूहबीच सीमानाको विषयलाई लिएर भएको वर्षौदेखिको द्वन्द रुपान्तरणका लागि पक्ष र सरोकारवालाहरुको पूर्व तयारी बैठक आइतबार सम्पन्न भएको छ ।

लालबन्दीस्थित डिभिजन वन कार्यालयको सभाहलमा सहायक वन अधिकृत सजन चौधरीको अध्यक्षतामा भएको पक्ष र सरोकारवालाहरुबीचको वैठकमा यी दुई समूहवीच द्वन्द उत्पन्न हुनुको कारण र समाधानका लागि के के गर्ने, को को जिम्मेवार हुने भन्ने विषयमा छलफल भएको हो ।

दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने मूल नाराका साथ स्थापित भई २०७० सालदेखि नै समुदायमा देखिने विभिन्न द्वन्द रुपमान्तरणमा अग्रणी भूमिका खेल्दै आएको प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले दुबै वन समूहका पदाधिकारी र सरोकारवालाहरुको सहभागितामा पूर्व तयारी वैठक गराएको हो ।

वैठकको सहजीकरण गर्नुहुँदै द्वन्द रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले आफूहरुले व्यक्ति नभई समुदाय जोडिएका द्वन्द÷विवाद रुपान्तरणमा मध्यस्थता गर्दै आएकोले लालबन्दी साझेदारी वन व्यवस्थापन समूह र बाहुनीदेवी सामुदायिक वन उपभोक्ता समूहबीच देखिएको विवाद समाधानमा पनि आफूहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो । ‘हामीले दुबै पक्षलाई एक ठाउँमा राखेर, छुट्टा छुट्टै राखेर पटक–पटक छलफल गराउँछौं, उहाँहरुबीच के विषयमा विवाद भएको हो, त्यो कुराको पहिचान गर्छौं र सहमतिका आधारहरु तयार गर्छौं । हाम्रा विभिन्न समूहहरुले त्यसमा काम गरेका हुन्छन् । त्यसपछि दुबै पक्षको राजीखुशिमा सहमति गराउँछौं ।’ स्रोत व्यक्ति विश्वकर्माले भन्नुभयो, ‘हामीले यसरी गराउने सहमतिमा दुबै पक्षको जित हुन्छ, कोहीपनि हार्दैनन् । हामीले गरेको मध्यस्थताबाट द्वन्दरतपक्षबीच विवाद समाधानसँगसँगै मन पनि मिल्नेछ ।’

बैठकमा दुबै पक्षका प्रतिनिधिहरुले आफूहरुबीच विवाद उत्पन्न हुनुको कारण के हो र के हुँदा सहमत हुने ? भन्ने विषयमा बोलेका थिए । बैठकमा बोल्नुहुँदै बाहुनीदेवी सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष विष्णु सापकोटाले आफूहरुले खाई नखाई जोगाएको वन आज साझेदारीमा भागिँदा दुःख लागेको बताउनुभयो । सोही वन उपभोक्ता समूहका उपभोक्ता राज तामाङ्गले द्वन्दकालमा समेत ज्यानको बाजी लाएर रेखदेख गरेर जोगाएको बन साझेदारीमा कसरी गाभियो, कस्ले गाभेको हो आफूहरुलाई अचम्म लागेको बताउनुभयो । त्यस्तै सोही वन उपभोक्ता समूहकी अध्यक्ष रमा पौडेलले आफूहरुले संरक्षण गरेको वन चै साझेदारीमा परेको तर आफूहरुको पहँुच नै नपुग्ने वन क्षेत्र चै आफूहरुको भागमा परेको बताउनुभयो । उहाँले संरक्षणकर्ताको हितलाई मध्यनजर गर्दै लालबन्दी साझेदारी वन व्यवस्थापन समूहसँगको आफूहरुको सीमा सम्बन्धी विवाद समाधान गरिदिन आग्रह गर्नुभयो ।

विवाद समाधानमा आफूहरु समेत तयार रहेकोले समूहको वैठक बसेर यस विषयमा निर्णय गर्ने लालबन्दी साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष अजय यादवले बताउनुभयो । बाहुनीदेवी सामुदायिक वन उपभोक्ता समूहसँगको सिमाना विवादका कारण आफूहरुलाई समेत काम गर्न असहज भएकोले विवाद समाधानमा लचिलो हुने बताउनुभयो ।

वैठकलाई सम्बोधन गर्नुहुँदै सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशका न्यायिक समिति संयोजक उत्तर कुमार मैनालीले साझेदारी वनको अवधारणा पछिमात्रै आएको बताउनुभयो । उहाँले जिल्लामा साझेदारी वन गठनका विषयमा भएको छलफलमा आफूले पनि भागलिएको बताउनुहुँदै उहाँले बाहुनीदेवी र वनदेवीमध्ये वनदेवी सामुदायिक वन लालबन्दी साझेदारी वनमा गाभिएकोले सोही समयमा सिमाना तलमाथि भएको हुनसक्ने बताउनुभयो ।

त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन)का केन्द्रीय सदस्य कृष्ण गौतमले लालबन्दी साझेदारी वन व्यवस्थापन समूह र बाहुनीदेवी सामुदायिक वनबीच देखिएको सीमानासम्बन्धी विवाद ठुलो विवाद नभएकोले समाधान हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले विवाद समाधानमा प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपाल सफल हुने द्वन्दरत पक्षले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विवाद समाधानमा सहयोग गर्न डिभिजन वन कार्यालयलाई समेत आग्रह गर्नुभयो । उहाँले सम्बिन्धित वनका पूर्वपदाधिकारीहरुलाई समेत सहयोग गर्न आग्रह गर्नुभयो ।

त्यस्तै डिभिजन वन कार्यालय सर्लाहीका सहायक वन अधिकृत सजन चौधरीले यी दुई वन समूहको विवाद समाधान गर्दा विद्यमान नियम कानूनलाई टेकेर गरिनुपर्ने बताउनुभयो । ‘पहिले साझेदारी वन सम्बन्धी सम्पूर्ण काम वन मन्त्रालयले गर्नेगरेको, पछि वन विभागले गर्ने गरेको र अहिले प्रदेश मातहत आईसकेपछि त त्यतिबेलाको नियमावली खारेज नै भएको अवस्थामा बाहुनदेवी सामुदायिक वन उपभोक्ता समूहसँगको विवाद कसरी समाधान गर्न सकिन्छ त्यो विद्यामान नियमकानूनको पनि ख्याल गर्नु पर्छ ।’ सहायक वन अधिकृत चौधरीले भन्नुभयो,‘बाहुनीदेवी सामुदायिक वन उपभोक्ता समूह हस्तान्तरण हुने समयमा त्यसको क्षेत्रफलमा तलमाथि भएको भएपनि चारकिल्ला तोकिएको हुनुपर्छ । विवाद समाधान त्यही चारकिल्लालाई आधार मानेर पनि गर्न सकिन्छ ।’

वैकठमा लालबन्दी साझेदारी वन व्यवस्थपन समूहका सचिव विनोद जैसवाल, बाहुनीदेवी सामुदायिक वन उपभोक्ता समूहका सचिव हिरा बहादुर थिङ, प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका तर्फबाट सहजकर्ताहरु गंगा बहादुर विश्वकर्मा, प्रज्ञा सापकोटालगायतको उपस्थिति रहेको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.