लालबन्दी नगर वाङ्मय परिषद्द्वारा कविता प्रतियोगिताको तेस्रो संस्करण सम्पन्न

सर्लाही ।लालबन्दी नगर वाङ्मय परिषद्ले कविता प्रतियोगिताको तेस्रो संस्करण सम्पन्न गरेको छ। जानकी माध्यमिक विद्यालयको तत्त्वावधान र परिषद्को आयोजनामा उक्त प्रतियोगिता आज सम्पन्न भएको हो। लालबन्दी नगरपालिकाभित्रका माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखी परिषद्ले सालबसाली कविता प्रतियोगिता गर्दै गराउँदै आएको परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताएका छन्।
आज सम्पन्न भएको माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगिताको तेस्रो संस्करणमा फौद्धसिंह माध्यमिक विद्यालयका छात्र विज्ञान अधिकारी प्रथम, कम्युनिटी वेलफेयर मा.वि.की छात्रा कृष्टिका शिवाकोटी द्वितीय, दिव्यज्योति मा.वि.की छात्रा समृद्धि पौडेल तृतीय भएका छन् भने लर्डब्राइट विजडम इन्टरनेसनल मा.वि.की प्रज्ञा सत्यालले सान्त्वना पुरस्कार प्राप्त गरेकी छिन्।
विजेता छात्रछात्राहरूलाई कार्यक्रमकी विशिष्ट अतिथि कल्पनामाया पाख्रिनका हातबाट सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमका निर्णायकहरूमा जनज्योति बहुमुखी क्याम्पसका सह–प्राध्यापक वैकुण्ठप्रसाद पौडेल, महादेव जनता मा.वि. हरिवनका प्रध्यानाध्यापक तथा कवि गिरिराज राना र कवि गजलकार कुमार दाहाल ‘कुसुम’ रहेका थिए। विजेताहरूमध्ये प्रथम स्थान हासिल गर्नेलाई नगद रूपैयाँ तीन हजार पाँच सय, सिल्ड, पदक तथा प्रमाणपत्र, द्वितीय स्थान हासिल गर्नेलाई नगद रु. दुई हजार पाँच सय सिल्ड, पदक तथा प्रमाणपत्र र तृतीय स्थान हासिल गर्नेलाई नगद रु एक हजार पाँच सय सिल्ड, पदक र प्रमाणपत्र र सान्त्वनालाई नगद एक हजार, सिल्ड पदक र प्रमाणपत्रका साथै सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा परिषद्का अध्यक्ष अच्युत अधिकारीको सभापतित्व रहेको थियो भने लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारी प्रमुख अतिथि, नगर उपप्रमुख कल्पनामाया पाख्रिन विशिष्ट अतिथिका रूपमा रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख कल्पनामाया पाख्रिनले लालबन्दी नगर वाङ्मय परिषद्ले उत्कृष्ट कामहरू गर्दै आएको र यस्ता कार्यक्रमलाई परिषद्ले निरन्तरता दिइरहनुपर्ने आवश्यकता अौँल्याइन्। कार्यक्रमका अतिथि नेपाल शिक्षक महासङ्घ लालबन्दी नगरका अध्यक्ष केदारप्रसाद घिमिरेले परिषद्ले राम्रा कार्यक्रम गर्दै आएको बताए।
जानकी माध्यमिक विद्यालयका प्र.अ. हिरालाल महतोले प्रतिस्पर्धात्मक कार्यक्रमका माध्यमबाट विद्यार्थीमा सिर्जनात्मक प्रतिस्पर्धा गराउँदा कालान्तरमा विद्यार्थीको व्यक्तित्व विकासमा ठुलो टेवा पुग्ने बताए। प्रेमज्योति आधारभूत विद्यालयकी प्रधान अध्यापिका तुलसा गौतमले परिषद्लाई बधाई दिँदै आगामी दिनमा पनि यस्ता सुन्दर कार्यक्रम गर्न गराउन अनुरोध गरेकी थिइन्। कार्यक्रमको सञ्चालन परिषद्का कोषाध्यक्ष विवश पौडेलले गरेका थिए।