३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रभु साहको प्रश्न, ‘यो सरकार श्रमिक की भगौडाको पक्षमा ?’ – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

प्रभु साहको प्रश्न, ‘यो सरकार श्रमिक की भगौडाको पक्षमा ?’

पोखरा । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान र कानून भगौडा पूँजीवादी व्यवस्थाको पृष्टपोषक रहेको बताएका छन् ।

पोखरामा आज आजपाको गण्डकी प्रदेश स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दलीयतन्त्र र मुठीभरका नेताहरुकारण नेपालको आर्थिक, राजनीतिक अवस्था कमजोर हुदै गएको बताए ।

नेपाली श्रमिकको पक्षमा यहाँ सरकार र नेता नभएको बताउँदै उनले अन्य देशको नागरिक भईसकेका मान्छेलाई दोहोरो नागरिकत्ता दिएर नेपालको पुँजी विदेश लैजान दिने गरी कानून बनाउँनु दुखद रहेको बताए ।

‘विदेशमा काम गरेर नेपालमा पैसा पठाउँने नेपाली श्रमिकको पक्षमा यो सरकारले केही गर्न सकिरहेको छैन, दैनिक युवाहरु विदेशमा काम गर्न जान बाध्य छन् । विदेशमा खुनपसिना एक गरी विदेशमा काम गरेर नेपालमा उनीहरु पैसा पठाउँछन’ साहले भने, ‘तर नेपालको नारिकत्ता परित्याग गरी विदेशमा गएर उतैको नागरिकता लिईसकेकालाई दोहोरो नागरिकत्ता दिएर नेपालमा भएका सम्पती बेचेर उतै लैजाने दिने गरी कानून बन्नुले देश आर्थिक संकटमा गईरहेको छ ।’

अहिलेको संविधानको अन्त्यष्टि गर्नुपर्ने बताउँदै उनले संविधान दिवशको औचित्य नभएको टिप्पणी गरेका छन् । सरकारले असोज ३ गते संविधान दिवस उत्सवका रुपमा मनाउँने तयारी गर्दै गर्दा उनले संविधान दिवसको कुनै औचित्य नभएको बताए ।

अध्यक्ष साहले अहिलेको व्यवस्था ‘गण्डा व्यवस्था’ भएको टिप्पणी गर्दै अहिलेको संविधानले नेपाली जनताको चाहना पुरा हुन नसक्ने बताए । ‘अहिलेको संविधानको रक्षा गर्न सकिदैन् । अहिलेको व्यवस्था र संविधानले देशलाई अगाडी बढाउँन सक्दैन् । देशमा लोकतन्त्र होईन, दलतन्त्र छ’ साहले भने, ‘नेपालमा राजतन्त्र फालेर लोकतन्त्र ल्याउँने भनियो तर लोकतन्त्र हैन, दलतन्त्र आएको छ । आजको दिनमा राजन्त्र त हटयो तर छोटे राजाहरुको जन्म भएको छ ।’

अहिले कुनै पनि कार्यालयमा विना घुसको काम गराउँन सकिने अवस्था नभएको बताउँदै उनले ति भ्रष्टहरुलाई ठुला दलका शीर्ष नेताहरुले नै संरक्षण गरिरहेको आरोप उनले लगाए । विदेशमा मौज गरिरहेका, नेपालबाट लुटेर विदेशमा पुगेकाको पक्षमा सरकार उभिने गरेको तर विदेशमा मजदुरी गर्ने श्रमजिवि मजदुर जसले नेपाल बनाउँन श्रम गर्ने गरेको त्यसलाई हेला गर्ने काम सरकारबाट भईरहेको उनले बताए ।

‘भगौडा दललाको पक्षमा कानून निर्माण गर्ने, नेपालमा लुटेर विदेशमा मौज गर्नेकै पक्षमा लाग्ने सरकार उनीहरुकै पक्षमा थप कानून बनाएर नेपालको पैसा विदेशमा पुर्याउँन काम गरिरहेका छन’ साहले भने, ‘तर विदेशमा श्रम गर्ने, विदेशमा काम गरेर नेपालमा पैसा पठाएर नेपाललाई समृद्ध बनाउँन चाहने युवा, श्रमिकको पक्षमा सरकार नलाग्नु लाजमर्दो कुरा हो ।’

मुलुकलाई समृद्ध बनाउँन आम जनताको शासन आवश्यक रहेको बताउँदै उनले दलतन्त्र र मुठिभर नेताहरुको गलत क्रियाकलापले देशको आर्थिक अवस्था झनझन बिग्रदै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

गलत संवैधानिक प्रावधानले गर्दा देशमा राजनीतिक एवं आर्थिक संकट बढदै गएको बताउँदै उनले राजनीतिक स्थायित्व एवं समृद्धिका लागि अहिलेको संविधान खारेज गरी नयाँ संविधानका लागि विद्रोहको आवश्यक्ता रहेको बताए ।

गलत संवैधानिक व्यवस्थाका कारण राजनीतिक, आर्थिक, धार्मिक एवं सम्प्रदायिक हिंसाको माहौल बढदै गएको उनले बताए । ‘गलत संवैधानिक प्रावधानहरूले गर्दा देशमा दिनप्रतिदिन राजनीतिक एवं आर्थिक संकट बढ्दै जानु, धार्मिक, संस्कृतिक एवं साम्प्रदायिक हिंसाको माहौल बढ्दै जानु, राज्य भ्रष्टाचार एवं कुशासनको दुष्चक्रमा फस्नु, लोकतन्त्रको स्थानमा दलीय लुटतन्त्र (दलतन्त्र) क्रियाशील रहनु, स्थिरता, बदलाव, विकास र समृद्धिको सपना चक्नाचुर हुनु अर्थात समग्रमा भन्नुपर्दा संवैधानिक दोषहरुको कारणले गर्दा देश अग्रगति भन्दापनि अधोगतितर्फ लागेको देखिन्छ’ अध्यक्ष साहले भने ।

नेपालको संविधान निर्माण पश्चात् यसको सफल कार्यान्वयन मार्फत देशबाट संक्रमणकाल र राजनीतिक द्वन्द्वको अन्त्य सहित स्थिरता, सुशासन, बदलाव र विकासले गति लिने अपेक्षा गरिए पछि गलत संवैधानिक व्यवस्थाकै कारण देशले सफलता हासिल गर्न नसकेको आजपाको निष्कर्ष रहेको छ ।

यस गलत एवं विकृत संविधानको भण्डाफोर गर्दै यथाशीघ्र मुलुक र आम जनताको दीर्घकालिक हितको प्राप्ति, रक्षा एवं विकास हुन सक्ने गरी आम नेपाली जनताको मनोभाव तथा विभिन्न परिवर्तनका आन्दोलनहरुको मुलमर्म अनुरूपको नयाँ व्यवस्था ल्याउन तर्फ अग्रसर हुन उनले आह्वान गरे ।

नेपालको संविधान कुनै निश्चित दर्शन, सिद्धान्त र शासन प्रणालीमा आधारित नभई राजनीतिक भागबण्डा (लेनदेन) को आधारमा भएकोले संविधान कार्यन्वयनको पहिलो दशकमा नै यसले आफ्नो दुर्गुणहरु देखाउन थालिसकेको उनले बताए ।

बैठकलाई सम्बोधन गर्दै आजपाका वरिष्ठ उपाध्यक्ष एवं पूर्व मन्त्री बद्रिप्रसाद न्यौपाने मुठिभरका नेताहरुको शासन व्यवस्थामा हालीमुहाली भएकाले मुलुकको आर्थिक अवस्था विग्रदै गएको बताए । नेपालमा लोकतन्त्र नभई दलतन्त्र भएको टिप्पणी उनले गरे ।

यसैगरी आजपाका उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापामगर आम जनताको पहुँच शासन व्यवस्थामा नभए सम्म परिवर्तन आउँन नसक्ने बताए । नेपालमा भ्रष्टाचार, कुशासन, अनियमितता बढदै गईरहेको र भ्रष्टहरुलाई शासन व्यवस्थामा पहुँच भएका नेताहरुकै संरक्षण रहेकाले मुलुकको आर्थिक अवस्था संकट तर्फ उन्मुख भएको उनले बताए ।
कार्यक्रममा पार्टीका उपमहासचिव कुन्दन कुशवाहा लगायतका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी नेताहरु आजपामा प्रवेश गरेका छन् । बैठकले मुलुकलाई अग्रगमनतर्फ लैजान चाहनेहरुबीच ध्रुवीकरण अपरिहार्य रहेको निश्कर्ष निकालेको छ । बिभिन्न पार्टी परित्याग गर्ने गोकुल बिक, स्वर्ण लामा, रामजी गुप्ता, ओमप्रकाश बिक, प्रकाश थापालगायतलाई अध्यक्ष प्रभु साहले स्वागत गरे ।

यसैबीच आजपाले भोली (आईतबार) भन्सार विभाग घेराउ गर्ने भएको छ । आजपाले देशमा सरकारी वेतनभोगी कर्मचारीमार्फत राजश्वमा हुने ४५ प्रतिशतको लुटकारी व्यवस्था खारेजीको माग गर्दै भन्सार विभाग घेराउँ गर्दैछ ।

त्यसको लागि भोलि भदौ ३१ गते आइतबार ललितपुरको कुपण्डोलबाट जुलुश निकालेर त्रिपुरेश्वरस्थित् भन्सार विभाग घेराउ गर्ने कार्यतालिका रहेको आजपाका प्रवक्ता चन्द्रभुषण साहले बताए । सो क्रममा उनीहरुले भन्सार विभागका डिजीलाई ज्ञापनपत्र पनि बुझाउने कार्यक्रम रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.