मेयर बुढाथोकीले गरे जिल्लाकै पहिलो रेडियोको निरीक्षण

हरिवन ।। हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल)ले नगरभित्रका सामुदायिक संघसंस्थाहरुको संरक्षकत्व नगरपालिकाले लिने बताउनुभएको छ ।
जिल्लाकै पहिलो रेडियो सामुदायिक रेडियो सर्लाही १०५.७ मेगाहर्जको शुक्रबार अनुगमत तथा निरीक्षण गर्नुहुँदै मेयर बुढाथोकीले समुदायको हितका लागि स्थापित सामुदायिक संघसंस्थाको संरक्षण नगरपालिकाले गर्ने बताउनुभएको हो ।
शुक्रबार साँझ आफ्ना सहयोगीहरुसहित हरिवन ११ स्थित रेडियोको अनुगमनका लागि पुग्नुभएका मेयर बुढाथोकीले रेडियोको समग्र अवस्थाको बारेमा जानकारी लिनुभएको थियो । रेडियोको निरीक्षण तथा अनुगमनपछि मेयर बुढाथोकीले रेडियोको गुणस्तर वृद्धि तथा भौतिक संरचना निर्माणमा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले सामुदायिक रेडियो सर्लाहीलाई समावेशी बनाउन, सबैले सुन्न सक्ने बनाउन र सबैलाई रेडियो सुनौं सुनौं लाग्ने बनाउन समेत रेडियोका अध्यक्ष तथा संचालक समितिलाई आग्रह गर्नुभयो ।
नगरप्रमुखमा निर्वाचित भएयता पहिलोपटक रेडियो सर्लाही पुग्नुभएका मेयर बुढाथोकीलाई रेडियोका अध्यक्ष भरत कुमार कार्कीले, सचिव सन्तोष बानियाँ, सदस्य मोहनलाल श्रेष्ठ, विनय न्यौपाने, सुरज खनाल लगायतले स्वागत तथा सम्मान गर्नुभएको रेडियोका स्टेशन म्यानेजर पत्रकार सोम दियालीले जानकारी दिनुभयो । सो क्रममा अध्यक्ष कार्कीले रेडियोको वर्तमान अवस्था, कोभिडको समयमा रेडियोले भोग्नु परेका कठिनाई, महामारीका समयमा रेडियोले खेलेको भूमिका लगायतका विषयमा मेयर बुढाथोकीलाई अवगत गराउनुभएको स्टेशन म्यानेजर दियालीले बताउनुभयो ।
सामुदायिक रेडियोले सधै समुदायको हितलाई केन्द्रमा राखेर सूचना तथा जानकारीहरु सम्प्रेषण गर्नुपर्ने भएकोले रेडियो सर्लाहीले सोही अनुसार हरिवन तथा जिल्लावासीलाई जिल्लाका गतिविधिहरुका बारेमा सुसुचित गराएको अध्यक्ष कार्कीले बताउनुभयो । उहाँले स्थानीय सरकारका गतविधि, योजना, जनप्रतिनिधिका उदाहरणीय कार्यबारे नागरीकलाई जानकारी दिने काममा सामुदायिक रेडियोहरुको भूमिका अहम र उल्लेखनीय रहेको बताउनुभयो ।