सर्लाही २ मा महिन्द्र राय यादव निर्वाचित
![](https://nigranitoday.com/wp-content/uploads/2022/11/mahendra-780x470.jpg)
सर्लाही,१० मंसिर । सर्लाही क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यमा नेपाल समाजवादी पार्टी (नेसपा)का उम्मेदवार महिन्द्र राय यादव निर्वाचित हुनु भएको छ । रायले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार राजेन्द्र महतो लाई २ हजार १३ मतको मतान्तरले पराजित गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट उम्मेदवारी दिनुभएका रायले २३ हजार ५ सय २९ मत प्राप्त गर्नुभएको छ।उहाँका निकटतम प्रतिस्पर्धी लोसपाका उम्मेदवार महतोले २१ हजार ५ सय १८ मत ल्यानुभएको छ ।
२०७० सालको दोस्रो संविधानसभा चुनावमा एउटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोलाई त्यसबेला पनि नेपाल समाजवादी पार्टी (नेसपा) का वरिष्ठ नेता महेन्द्र राय यादवले पराजित गरेका थिए ।
२०७० मा महतो सद्भावना पार्टीबाट उम्मेदवारी दिएका थिए भने यादवले तराई मधेस सद्भावना पार्टीबाट उम्मेदवार बनेका थिए।क्षेत्र नं. २ मा एक लाख १६ हजार २ सय २३ मतदाता रहेका छन ।
त्यसमध्ये आइतबार सम्पन्न निर्वाचनमा ७४ हजार १५५ अर्थात ६४.३२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।त्यस्तै अर्को उम्मेदवार नेकपा एमालेका राजनारायण साहले १४ हजार ८१९ मत प्राप्त गर्नुभएको छ।