
सर्लाही,१८ माघ ।सर्लाहीको चन्द्रनगर गाउँपालिकाले पोषणमैत्री स्थानीय तह घोषणा गराउन पुर्व तयारी गर्न थालेको छ । चन्द्रनगर गाउँपालिकाले बहुक्षेत्रीय पोषण सम्बन्धी कार्यक्रम आयोजनामा गरी पोषणमैत्री स्थानीय तह घोषणा गराउन सूचकहरुको बारेमा सहभागी कर्मचारी तथा जनप्रतिनिधिहरुलाई जानकारी गराएका थिए ।
बुधबार आयोजना गरिएको कार्यक्रममा पोषण मैत्री शासन, पोषणमैत्री स्थानीय तह कार्यन्वयन निर्देशिका,पोषणमैत्री स्थानीय तह घोषणाका सुचकहरु, पोषणमैत्री स्वास्थ्य संस्था निर्धारणका सुचकहरु,शासकिय प्रबन्ध क्षेत्रका सूचकहरु,शिक्षा क्षेत्रका सूचकहरु, खानेपानी तथा सरसफाइ क्षेत्रका सूचकहरु,कृषि विकास क्षेत्रका सूचकहरु,पशुपन्छी क्षेत्रका सूचकहरु,महिला बालबालिका क्षेत्रका सूचकहरु लगायत ७० वटा सूचकरुको चर्चा गरिएको थियो ।
सबै क्षेत्रका सूचकहरु पूरा भएपछी पोषणमैत्री स्थानीय तह घोषणा हुने भएकोले अब यी सूचक पूरा गर्न चन्द्रनगर गाउँपालिका आजै देखि लागि पर्ने गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताउनुभयो । जनप्रतिनिधि सँग ५ वर्ष छ, यो ५ वर्षमा गर्ने विकास पुस्ता पुस्ताले समझिने गरि हुने अध्यक्ष महतोले बताउनुभयो । अध्यक्ष महतोले चन्द्रनगर गाउँपालिकालाई पोषणमैत्री स्थानीय तह घोषणा गराउन तयारी गर्न सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

गर्भा अवस्था देखि बच्चा जन्मेको २ बर्ष सम्म बालबालिकाको ८०% बौद्धिक विकास हुने गरेको छ, तर बच्चामा पोषणको अवस्था निकै नै कमजोर भएको अध्यक्ष महतोले बताउनुभयो । हजार दिने आमा र बच्चाको स्वास्थ्य र पोषणको स्थितिमा सुधार ल्याउनका लागि पोषण मैत्री शासन तथा पोषणमैत्री स्थानीय तह चन्द्रनगरलाई घोषणा गराउन गाउँपालिकाले हर सम्भव प्रयास गर्ने भएकोले कर्मचारीहरु पनि यो अभियानमा एकजुट भई अघि बढनु पर्ने अध्यक्ष महतोले बताउनुभयो ।
कार्यक्रममा चन्द्रनगर गाउँपालिका उपाध्यक्ष गिता देवी महतो, ७ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य लगायत गाउँपालिकाका सम्पूर्ण शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको स्वास्थ्य शाखा प्रमुख अमृत चौधरीले जानकारी दिनुभयो ।