आजपा केन्द्रीय सदस्य साहलाई रिहा नगरिए कडा आन्दोलन गर्ने घोषणा

काठमाडौं । आम जनता पार्टी (आजपा) ले केन्द्रीय सदस्य एवं अभियन्ता ईन्जिनियर प्रमोद राणा साहलाई यथाशिघ्र रिहा गर्न माग गरेको छ । साथै भ्रष्टाचारको अडा बनेको नापी कार्यालय सप्तरीका अधिकृत सुमनकिशोर मिश्र लगायतका भ्रष्टकर्मचारीलाई छानविन गरी कानूनी कारवाही गर्न आजपाले माग समेत गरेको छ ।
सप्तरी जिल्लाको रुपनी गाउँपालिका वडा नं.१ निवासी आजपा केन्द्रीय सदस्य एवं अभियन्ता साहलाई पूर्वाग्रही ढंगले प्रहरीले बुधबार पक्राउँ गरेको छ । साहलाई पक्राउँ गरेपछि आजपा प्रवक्ता चन्द्रभुषण साहले एक बिज्ञप्ती मार्फत घटनाप्रति आपती जनाउँदै घोरभत्र्सना गरेका छन् ।
‘सप्तरी जिल्ला नापी कार्यालयले बिचौलिया र करारको कर्मचारीमार्फत गर्दै आएको अनियमितता, भ्रष्टाचार एवं लुटआतंकको बारेमा पीडित सहितको सप्रमाण साथमा लिई थप बिषय बुझन र यस अपराधको बारेमा खबरदारी गर्न सोही कार्यालयको कार्यालय समयमा गएको सन्दर्भलाई लिएर भ्रष्टाचारका पक्षपोषक सरकार र तिनका मतियारको रुपमा सप्तरी प्रशासनले भ्रष्टाचारीलाई कानूनको दायरामा ल्याउँनुको साटो उल्टै सप्तरी जिल्ला रुपनी गाउँपालिका वडा नं.१ निवासी हाम्रो आम जनता पार्टीका केन्द्रीय सदस्य एवं अभियन्ता ई.प्रमोद राणा साहलाई पूर्वाग्रही ढंगले मिति २०८१ भदौ १९ गते गिरफ्तार गरेको घटनाप्रति आपती प्रकट गर्दै घोरभत्र्सना गर्दछौं’ आजपा प्रवक्ता साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
गिरफ्तार पार्टीका नेता एवं अभियन्ता साहलाई यथाशिघ्र बिनासर्त रिहा गर्न र देशको प्रमुख शत्रुको रुपमा रहेका दलाल, बिचौलिया एवं भ्रष्ट कर्मचारीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउँन आजपाले माग गरेको छ । साथै तिनिहरुलाई पक्षपोशन गरिरहेका सप्तरी जिल्ला प्रहरीका प्रमुख एसपी गजुसिद्धि बज्राचार्य लगायतका प्रशासकहरुलाई छानबिनको दायरामा ल्याउँन सबै सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण सहितको जोडदार माग आजपाले गरेको छ ।
‘हाम्रो न्यायोचित मागहरुलाई कुनै पनि किन्तुपरन्तुको बहानामा नजर अन्दाज गर्ने दुस्प्रयास भए हामी कडाभन्दा कडा संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने र यसबाट सृजित हुने सम्पूर्ण क्षति एवं परिस्थितिको जिम्मेवारी राज्यपक्षले लिनुपर्ने बिषय अग्रीम रुपमा अवगत गराउन चाहन्छौं’ आजपाले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।