गरुडा नगर-प्रमुख जैसवालले दुर्गा पूजा मेला समिति सिसवा धमौरालाई गरे आर्थिक सहयोग
दुर्गा पूजा मेला समिति सिसवा धमौरालाई गरे आर्थिक सहयोग

प्रदिप कुमार दास,रौतहट ।
असोज २२ गते, मङ्गलवार ।
रौतहट जिल्लाको गरुडा नगरपालिकाका नगर-प्रमुख कन्थमनी प्रसाद जैसवालले रौतहटको वृन्दावन नपा-६ स्थित सिसवा धमौराको ऐतिहासिक र सबैभन्दा पुरानो दुर्गा मन्दिरमा पूजा अर्चना गर्दै दुर्गा पूजा मेला समितिलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ। यो मन्दिर दुर्गा पूजाको ऐतिहासिक महत्व बोकेको स्थान हो, जहाँ प्रत्येक वर्ष भव्य रूपमा मेला र पूजा कार्यक्रमको आयोजना गरिन्छ।
नगर-प्रमुख जैसवालले मन्दिरमा विशेष पूजा गरी नगरपालिकाको तर्फबाट दुर्गा पूजा समितिलाई नगद रु. ७५ हजार आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो। उक्त सहयोग रकम दुर्गा पूजा मेला समिति सिसवा धमौराका कोषाध्यक्ष सिकिन्द्र दासलाई मेला समितिका अध्यक्ष महेन्द्र दास र प्रमुख मेला व्यवस्थापक तथा जसपाका युवा नेता राजकुमार दासको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।
नगर-प्रमुख जैसवालले नगरका धार्मिक र सांस्कृतिक परम्परालाई संरक्षण र प्रवर्द्धन गर्न आफू सधैं तत्पर रहेको बताउनुभएको छ। उहाँले भने, “यो मन्दिरको सांस्कृतिक महत्वलाई जगेर्ना गर्न र यस क्षेत्रको विकासमा निरन्तर योगदान पुर्याउने मेरो प्रयास हुनेछ।” यस अवसरमा समितिका पदाधिकारीहरूले मेयर जैसवाललाई धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा मेला समितिका प्रमुख व्यवस्थापक राजकुमार दासले भने, “नगर-प्रमुखको यो योगदानले मेला सञ्चालनका क्रममा ठुलो सहयोग पुगेको छ, जसले गर्दा हामीलाई अझ व्यवस्थित र भव्य रूपमा मेला सञ्चालन गर्न मद्दत पुगेको छ।”
यस आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा मेला समितिका अध्यक्ष महेन्द्र दास, सचिव बिसुनदयाल राय, सह-सचिव रामप्रवेश यादव, सदस्य सुखल दास, पनीलाल दास, श्याम ठाकुर, रामाज्ञा ठाकुर, बसन्त राय यादव, संजय कुमार साह,बलिराम कुमार दास लगायत समितिका अन्य पदाधिकारीहरू र स्थानीय भद्रभलाद्मी, बुद्धिजीवी, सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
दुर्गा पूजा र मेला सिसवा धमौरामा विशेष गरी सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्वको कार्यक्रमहरू सञ्चालन हुने गरेका छन्। स्थानीय समुदायले पनि मन्दिर र मेलालाई आफ्नो सांस्कृतिक पहिचानको प्रतीकको रूपमा लिएको छ। नगर-प्रमुख जैसवालले यो मेलालाई अझ उत्कृष्ट बनाउने प्रयासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
जय माँ दुर्गा मेला समितिका तर्फबाट नगर प्रमुखलाई आभार जय माँ दुर्गा मेला समिति सिसवा धमौराले नगर-प्रमुख जैसवालप्रति आभार प्रकट गर्दै उहाँको योगदानलाई उच्च मूल्याङ्कन गरेको छ। समितिले स्थानीय तहसँगको सहकार्यले भविष्यमा पनि मेलालाई अझ भव्य बनाउने आशा व्यक्त गरेको छ।