३० आश्विन २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नाराबाजी गर्दै जनमतले घेर्यो बलरा नगरपालिका – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

नाराबाजी गर्दै जनमतले घेर्यो बलरा नगरपालिका

सर्लाही,२१ असोज। सर्लाहीको बलरा नगरपालिकामा नगर प्रमुख रामाशंकर कुशवाहामाथि भ्रष्टाचारको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ता र स्थानियवासीले विरोध प्रदर्शन गरेका छन्। प्रमुख कुशवाहाले बाढी पीडितको राहत वितरणमा अनियमितता गरेको र नगरपालिकाका अन्य कामहरूमा चरम भ्रष्टाचार गरेको आरोप लगाउँदै आन्दोलनकारीहरूले नगरपालिका घेराउ गरेका हुन्।

जनमत पार्टीका केन्द्रीय सदस्य हरिनन्दन राय यादवका अनुसार प्रमुख कुशवाहाले नगरपालिकाका विकास योजनाहरूमा व्यक्तिगत स्वार्थ पूरा गर्न भ्रष्टाचार गरेको र बाढी पीडितलाई राहत वितरणको नाममा विभेद गरिएको छ। “हामीले राहत वितरणलाई पारदर्शी बनाउनका लागि यो विरोध गरिरहेका छौं,” यादवले भने। राहत वितरणमा भएको अनियमितता र भ्रष्टाचारको अनुसन्धान गर्दै वास्तविक पीडितलाई मात्र राहत वितरण गर्नुपर्ने मागसहित आन्दोलन अघि बढाइएको उनको भनाइ छ।

प्रदर्शनकारीहरूको प्रमुख मागमा आर्थिक वर्ष २०७९/०८० को आय-व्यय सार्वजनिक गर्नुपर्ने, राहत वितरण वास्तविक पीडितसम्म पु¥याउनुपर्ने, सर्वदलीय बैठकमार्फत राहत वितरण गर्नुपर्ने, राहत वितरणको छानबिन गर्नुपर्ने, नगरपालिकामा भइरहेको भ्रष्टाचारलाई अन्त्य गर्नुपर्ने, र वितरणमुखी बजेट निर्माणको अन्त्य गर्नुपर्ने छन्।

जनमत पार्टीका अर्का केन्द्रीय सदस्य श्रीचन यादवले नगर प्रमुख कुशवाहामाथि भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै भने, “नगर प्रमुखले सरकारी स्रोतको दुरुपयोग गर्दै आफ्नो स्वार्थ पूरा गरिरहेका छन्, जबकि राहतको हकदार बाढी पीडितहरूले उचित सहायता पाएका छैनन्।” उनले यदि प्रमुखले राहत वितरणको मामिलामा भएका अनियमितताहरूको छानबिन नगरे र भ्रष्टाचार बन्द नगरे निरन्तर संघर्षका कार्यक्रमहरू सञ्चालन गरिने चेतावनी दिए।

जनमतका अर्का नेता संजय कुमार सिंहले नगरपालिकामा शिक्षा, स्वास्थ्य, र विकास निर्माणका कार्यहरू दयनीय अवस्थामा रहेको आरोप लगाए। “नगरपालिकाको प्राथमिकतामा पारदर्शिता छैन। यहाँका शिक्षण संस्था र स्वास्थ्य सेवाहरूमा सुधार हुनुपर्छ, तर प्रमुखले यसतर्फ कुनै ध्यान दिएका छैनन्,” सिंहले भने।

प्रदर्शनकारीहरूले बलरा नगरपालिकामा भ्रष्टाचारको विरोध गर्दै नगरपालिकाको भवन घेराउ गरेका छन्। नाराबाजी गर्दै नगर प्रमुखको राजीनामा र भ्रष्टाचार अन्त्यका लागि दबाब दिएका छन्। स्थानीय प्रहरी प्रशासनले भने प्रदर्शनलाई नियन्त्रणमा राख्न प्रहरी परिचालन गरेको थियो। प्रहरीको उपस्थिति घेराउको क्रममा देखिन्थ्यो, तर प्रदर्शन शान्तिपूर्ण रूपमा अघि बढिरहेको थियो।

आन्दोलनकारीहरूले नगरपालिकाले आर्थिक पारदर्शिता कायम गर्न र राहत वितरण प्रक्रियामा उचित अनुसन्धान गर्नुपर्ने माग राखेका छन्। उनीहरूले राहत वितरणका क्रममा गरिएको अनियमितताको निष्पक्ष छानबिन गर्न स्वतन्त्र समिति गठनको माग पनि गरे।

यसबीच, नगर प्रमुख रामाशंकर कुशवाहाले भने आफूमाथि लागेका सबै आरोपलाई अस्वीकार गरेका छन्। उनले नगरपालिकाले बाढी पीडितहरूको राहत वितरणमा कुनै अनियमितता नगरेको र सबै प्रक्रिया कानुनी दायराभित्रै भएको दाबी गरेका छन्। “हामीले नगरपालिकामा भएका सबै कार्यहरू कानुनअनुसार गरेका छौं। राहत वितरणमा पनि पारदर्शिता कायम राखिएको छ,” कुशवाहाले भने। उनले विरोधलाई राजनीतिक प्रेरित भएको र आफूलाई बदनाम गर्न खोजिएको आरोप लगाए।

तर, प्रदर्शनकारीहरूले नगर प्रमुखको जवाफलाई अस्वीकार गरेका छन्। “नगर प्रमुखले आफूमाथि लागेको आरोपलाई ढाकछोप गर्न मात्र यस्तो भनाइ दिएका हुन्,” एक प्रदर्शनकारीले भने। उनीहरूले नगर प्रमुखले वास्तविक पीडितहरूको हकमा राहत वितरण नगरेको र स्रोत साधनको दुरुपयोग गरेको आरोप दोहोर्‍याए।

विरोधमा सहभागी जनताले आफ्ना माग पूरा नभएसम्म संघर्ष जारी राख्ने बताएका छन्। प्रदर्शनले नगरपालिकाको दैनिक कामकाजमा अवरोध पुर्‍याएको छ भने, राहत वितरण प्रक्रियामा देखिएको अविश्वास र असन्तोषले थप जटिलता निम्त्याएको छ।

जनताको प्रमुख माग छ— आर्थिक पारदर्शिता र राहत वितरणमा निष्पक्षता। तर नगरपालिकाको प्रतिक्रिया नआएसम्म यो विवाद अझै चर्कदै जाने देखिन्छ। प्रदर्शन कार्यक्रममा लगभग ५ हजार ब्यक्तिको सहभागीता रहेको  थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button