घरघरमा बज्न थाल्यो रविराजको छठ गीत ‘दउरा घाटे के लेजाई’
रविराजको छठ गीत 'दउरा घाटे के लेजाई'

प्रदिप कुमार दास, रौतहट।
कार्तिक १७ गते, शनिबार।
मधेश क्षेत्रमा दीपावली सकिएसँगै लोक आस्थाको महापर्व छठको रौनक छाउन थालेको छ। छठ पर्वलाई स्वागत गर्दै घरघरमा छठका पारम्परिक गीतहरू बज्न सुरु भएका छन्, जसमा रविराज शाहको हालै सार्वजनिक ‘दउरा घाटे के लेजाई’ बोलको गीतले निकै चर्चा पाएको छ।
मधेशका गाउँ-शहरका प्रत्येक कुनामा छठको गीत बज्न थाल्दा रविराजको गीतले विशेष स्थान पाएको देख्न सकिन्छ। गीतको लोकप्रियताको कारण यसमा छठ पर्वको वास्तविकता, परम्परा र मधेशी समाजको मर्मलाई सरल तर गहिरो ढंगले प्रस्तुत गरिएको छ। रविराज शाहले गीतमार्फत मधेशी परम्परागत लय र शैलीलाई समेट्दै छठ पर्वको भावनालाई थप सजीव बनाएका छन्।
छठ पर्व विशेषतः सन्तान प्राप्ति र सन्तानको दीर्घायूको कामनाका लागि गरिने पर्व हो। गीतमा निसन्तान आमाको पीडा, समाजमा उनले सहने गरेका मानसिक र सामाजिक यातनालाई यथार्थपरक ढंगले उतारिएको छ। शाहका अनुसार गीतले विशेष गरी मधेश तथा भारतको बिहार, उत्तर प्रदेशजस्ता क्षेत्रमा निसन्तान महिलाले भोग्नुपरेको प्रताडना र पीडालाई उजागर गर्ने प्रयास गरेको छ। गीतको अन्त्यमा छठी मातामाथि अटुट विश्वास र पूजा गर्ने निसन्तान महिलालाई अन्ततः सन्तान प्राप्त भएको देखाइएको छ, जसले छठ पर्वको महत्त्व र आस्थाको गहिराइलाई दर्शाउँछ।
‘दउरा घाटे के लेजाई’ गीतका लेखक उमालाल यादव हुन् भने संगितकार रौशन सिंहले यसमा मधुरता भरेका छन्। म्यूजिक भिडियोमा शाहसहित सीमा शर्मा, ममता मण्डल र बीबीशा लगायतका कलाकारहरूले मनमोहक अभिनय गरेका छन्। राजिव समरको निर्देशनमा तयार भएको यो भिडियो देवेन्द्र कुशवाहाले सम्पादन गरेका हुन्।
नेपाल टेलिकमको प्रायोजनमा बनेको यो गीत गायक शाहको आधिकारिक युट्युब च्यानल ‘रविराज शाह अफिसियल’ मार्फत सार्वजनिक गरिएको छ। शाह, जो ‘नेपाल लोकस्टार’ रियालिटी शोबाट चर्चामा आएका थिए, बहुभाषिक गायक हुन् र नेपाली, हिन्दी, भोजपुरी तथा मैथिली भाषामा गीत गाउन खप्पिस मानिन्छन्। उनका यसअघि गाएका गीतहरू पनि व्यापक चर्चामा रहेका छन्।