सर्लाहीमा कार र मोटरसाइकल ठोक्किदा तीन जना घाइते
सर्लाही, मंसिर २१ – सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-१६ भोर्लेनीको जंगलस्थित भित्री सडकखण्डमा कार र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। घटना आज दिउँसो करिब १२:१० बजे भएको हो।
जिल्ला सर्लाही, लालबन्दीबाट परवानिपुरतर्फ जाँदै गरेको बा २१ च ६८६४ नम्बरको कारले रानिगन्जबाट आउँदै गरेको ना ६१ प ६५३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करका कारण मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा लालबन्दी नगरपालिका-१५, परवानिपुरका ४१ वर्षीय पालसाङ योन्जन रहेका छन्। उहाँको बायाँ खुट्टाको घुँडा, बायाँ हात र बायाँ कुममा गम्भीर चोट लागेको छ।
मोटरसाइकलमा सवार पालसाङ योन्जनका पाँच वर्षीय छोरा प्रयास योन्जनलाई निधार, दाहिने गाला, दुबै हात र बायाँ घुँडामा मध्यम चोट लागेको छ।
त्यस्तै, मोटरसाइकलमा सवार पालसाङको आमा करिब ७०/७२ वर्षकी दामामाया योन्जनको टाउको, बायाँ घुँडा, दाहिने गाला र अनुहारमा गम्भीर चोट लागेको छ।
घटनास्थलमा पुगेको प्रहरीले कारलाई नियन्त्रणमा लिएको छ। कारका चालक कैलाश साहका छोरा ३१ वर्षीय उमाशंकर साहले मदिरा सेवन नगरेको पुष्टि भएको छ। घटनामा प्रयोग भएको कार र चालकलाई इलाका प्रहरी कार्यालय, लालबन्दीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।