सर्लाही । सर्लाहीको बलरानगरपालिका वडा नं ११ छतौनामा महाबिरी झण्डा उत्सवका क्रममा देखिने विकृति र विसंगतिलाई नियन्त्रण गर्न तथा जनचेतना फैलाउन २४० सदस्यीय समाज सुधारक परिचालन समिति गठन गरिएको छ। वडाध्यक्ष सुखलाल सहनीको अध्यक्षतामा आज गठन भएको समितिले महाबिरी झण्डा पर्वलाई सभ्य र अनुशासित बनाउन विशेष योजना अघि सारेको छ।
समितिले महाबिरी झण्डाको अवसरमा रक्सी बिक्री र सेवन पूर्ण रूपमा निषेध गरिने, जुवा तास गतिविधिमा रोक,अश्लील नाचगानमा प्रतिबन्ध र महाबिरी झण्डा पर्वका क्रममा कुनै अप्रिय घटना भएमा त्यसको सम्पूर्ण जिम्मा मेला आयोजक समितिका अध्यक्षले लिनुपर्ने। कानूनी कारबाही र दण्ड सजाय पनि उनीमाथि नै लागु हुने निर्णय गरेको जनमत पार्टीका केन्द्रीय सदस्य सुजन यादवले जानकारी दिनुभयो ।समाज सुधारक परिचालन समितिका अध्यक्ष सुखलाल सहनीले महाबिरी झण्डा पर्वलाई परम्परा, संस्कृति र समाजको गरिमासँग जोडेर मनाउन सबैलाई आग्रह गरेका छन्।
साथै, उत्सवका क्रममा शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन, प्रहरी र स्वयंसेवकहरूसँग समन्वय गरेर अघि बढ्ने जानकारी दिए।यो कदमले बलरा–११ छतौनामा महाबिरी झण्डा पर्वलाई मर्यादित र अनुशासित बनाउन ठूलो योगदान दिने अपेक्षा गरिएको छ।