सर्लाही,२१ मघ । सर्लाहीमा ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध गाँजा बरामद गरिएको छ । सर्लाहीको लालबन्दीमा प्रहरीले १ सय १० केजी गाँजा बरामद गरेको छ।
आइतबार साँझ लालबन्दी नगरपालिका वडा नं. १५ कालिन्जोर खोलाको काँसघारीमा गाँजा लुकाई छिपाइ ओसार पसार गर्न राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कर्यालय सर्लाहीले जनाएको छ । काँसघारीमा रातो रंगको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधी राखेको अवस्थामा २२ वटा पोकाहरू फेला परेको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन पाठकको कमाण्डमा तथा अस्थायी प्रहरी पोष्ट परवानीपुर समेतको संयुक्त प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो। उक्त गाँजा कसले राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।