अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताले धर्ममाथि टक्कर दिन खोजेको आरोप लगाउदै अब ओली सरकार ठक्कर खाने उदघोष उनले गरे ।
रौतहटको राजपुर नगरपालिकामा आजपाद्धारा आज (शनिबार) आयोजित नगर भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले देवताको भूमि रहेको मौलापुरको मधानी महोत्सव रोक्न खोज्ने जनस्तरबाटै विद्रोह हुने चेतावनी समेत दिए ।
‘मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुनेछन, यो देवताको भूमि हो । अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव, अनि नेपाल र भारतका लाखौं भक्तजनको आस्था जोडिएको यो महोत्सव रोकिए जनस्तरबाटै विद्रोह हुन्छ’, आजपा अध्यक्ष साहले भने, ‘प्रभु साह र यहाँकी मेयरले नेपाल भारत जोडन्े काम गरेको छ, केपी ओलीलाई किन डाह लागेको हो ?’
प्रधानमन्त्री ओलीबाट नेपालमा हिन्दू धर्म र आस्थामाथि एकपछि अर्को प्रहारको श्रृंखला चलेको आरोप लगाउदै उनले होलीवाईनको पाईन नदेखाउन चुनौति दिएका छन् । ‘होलीवाईनको पाईन नदेखाउन नदेखाउन म यही माटोबाट ओली एण्ड कम्पनीलाई चूनौति दिन चाहन्छु । प्रभु साहमाथिको प्रतिशोध महँगो सावित हुनेछ, किनकी म सत्य र जनताको पक्षमा छु । म इमानको राजनीति गर्नेसँग बेइमानहरुको तुलना हुँदैन्’, साहले भने ।
प्रधानमन्त्री ओली कुल्चिनमा माहिर रहेको बताउदै उनले संविधान, संसद र सडक सबैको साख स्वाहा पारेको आरोप लगाए । कांग्रेसको बुँई चढेर दुई तिहाईको दम्भ नदेखाउन बताउदै उनले सरकारले नै ल्याएको अध्यादेश पारित हुन नसकेर सरकारको औचित्य समाप्त भएको बताए ।
‘केपी ओली पिएम चेयरमा डिस्प्लेमात्रै हुन्, उनलाई प्ले गर्ने रिमोट देउवा दम्पत्तिको हातमा छ । केपी ओली कुल्चिन मात्रै माहिर हो । संविधान, संसद् र सडक सबैको साख स्वाहा पारे । कांग्रेसको बुईंँ चढेर दुई तिहाईको दम्भ देखाउँदैछन्, त्यही दुई तिहाईंले ओलीको घमण्ड निल्दैछ । ओलीमा शक्ति उन्मादको अन्तिम कर्कस चल्दैछ, एमाले भित्रभित्रै जल्दैछ’ साहले भने ।
नेपालमा ओलीले निन्जा टेक्निङ्ग देखाईरहेको बताउदै उनले यो कुरा बच्चालाई पनि थाहा भईसकेको बताए । ओलीमा घमण्ड र दमनको हावाले भरिएको बेलुन जनताले फुटाएरै छोड्ने आजपा अध्यक्ष साहले बताए ।
केपी ओलीबाट देशमा विकास र निकास दुवै असम्भव भएको बताउदै उनले जनकपुरमा उहिल्यैदेखि चलेको रेलबारे फेरि झेली कुरा गरेको आरोप लगाए । खासमा भन्ने हो भने केपी ओली बोकेको कांग्रेस अहिले निल्नु न ओकल्नु पर्ने अवस्थामा आईपुगेको उनले बताए ।
‘केपी ओली ठगहरुको सरदार र एमाले भ्रष्टहरुको भरोसाकेन्द्र बनेको छ । प्रजाबिनाको तन्त्र भयो, प्रजातन्त्र त चोर नेताको लागि ठगी खाने मन्त्र जस्तै भयो । देश दलतन्त्रको दलदलमा अनि मुलुक महासंकटमा पस्दैगयो । जनताबाटै असुरक्षित सरकारका नाईकेहरुबाट देशको के सुरक्षा होला ?’, उनले प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले भारत भड्काए, चीन चिढ्याए अनि अमेरिकासँग आशंका बढाएको साहले बताए । यस्तै एमालेले सार्वजनिक जग्गा कब्जा गर्ने र राज्यको सम्पत्ति अपचलनमा अगाडि रहेको आरोप उनले लगाए ।
‘त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दछु, काठमाडौंमा मात्रै एक हजार रोपनी जग्गा हिनामिना भएको छ । नेपाल सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टमा परेको कुरा बाहिरिएको छ, किन यो अवस्था आयो ? ओली कहिल्यै सुध्रिएनन, यिनले केही नयाँ सिकेनन र पूराना केही बिर्सिएनन्’, उनले भने ।
ओलीको ज्यादती सहनेले मधेसको विकास गर्न नसक्ने बताउदै उनले मधेसवादी दलहरुलाई बेइज्जती सहरे सत्ता र सत्तापक्षमा नबसी बाहिर आउन सुझाव दिए । सरकारलाई समर्थन दिने, सरकारमै बस्ने र सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै सत्ता गठबन्धनमा किन टासिराख्नुपर्ने भन्दै उनले प्रश्न गरे ।
‘मधेस दिनदिनै मासियो । चोर नेताको कारण मधेसको विकास पातालमा भासियो । महन्थ ठाकुर, उपेन्द्र यादव, सिके राउतहरु बेइज्जती सहेर सत्ता र सत्ता पक्षमा बस्नुपरेको छ । ओलीको ज्यादती सहनेले के मधेशको विकास गर्छन् ? अध्यादेशको विरोध गर्छन अनि सत्ता गठन्धनमा टाँसिएका छन् । मधेसी जनताको भावनाको कदर गर्ने हो भने म उहाँहरुलाई सरकारबाट तत्काल बाहिरिन सुझाव दिन्छु । ओलीको शासन ठीक छैन भनेर भाषण गर्ने अनि सत्तामै टाँसिएर बस्नु नैतिकवान होईन्’, उनले भने ।