
सर्लाही सदरमुकामको मुटु भनेर चिनिने जिल्ला विकास चौकमा दिन दहाडै चोरी भएको छ । दिउँसै साँढे तीन बजे एक घरमा चोरी हुदाँ स्थानीयबासी त्रसित बनेका छन् ।
मलंगवा–१० स्थित रामसेवक चौधरीको घरमा कोही नभएको समयमा चोरले घरको ताल्चा फोडी घरमा लुटपाट गरेको छ । घरमा कोही नभएको समयमा चोरले दिउँसो ताल्चा फोडी लुटपाट गरेको छ । घरको मुख्य ढोकाको ताल्चा फुटाई भित्र पसेर चोरले दुईवटा कोठाको ताल्चा फुटाई दराजको समेत ताल्चा फुटाई लुटपाट गरेको छ । दराज भित्र रहेको नगद र गरगहना समेत चोरी लगेको पीडित चौधरीले बताएका छन् ।
घरमा भाडा लिएर बस्दै आएका चक्रघट्टा–८ का लक्ष्मण साहको कोठामा पनि लुटपाट भएको छ । उनको दराजमा रहेको सम्पूर्ण समान चोरी भएको चौधरीले बताएका छन् । दिनमै यसरी सदरमुकाममा लुटपाट हुनु निकैनै दुखद चौधरीले बताए । ‘घर भन्दा करिब सय मिटरको दुरीमा प्रहरी छ’ चौधरीले भने,‘सदरमुकाममा दिन दहाडै लुटपाट भएपछि जिल्लाको अवस्था कस्तो होला भनेर सजिलै बुझ्न सकिन्छ ।’ सदरमुकाममा सुरक्षित नभएपछि जिल्लाको अन्य स्थानमा कसरी शान्ति सुरक्षा हुन सक्छ भने जिल्लाबासी चिन्तित बनेको छ ।
नजिकैको घरमा लुटपाट भएपछि छेउमै व्यवसाय गरेर बसेका जानकी पार्टी प्यालेसका संचालक तथा होटल तथा पर्यटन व्यवसायी संघका जिल्ला अध्यक्ष राजेश शर्मा त्रसित बनेका छन् । छेउमै रहेको घरमा लुटपाट भएको छ । दिन दहाडै लुटपाट हुदाँ समेत प्रहरीले केही गर्न सकेको छैन् । दिउँसै लुटपाट हुन थालेपछि व्यवसायीहरुमा त्रास फैलिएको छ । मलंगवाको मुख्य चौकमा लुटपाट हुनु निकै नै डर लाग्दो अवस्था हो । शान्ती सुरक्षाको अवस्था छैन् । जिल्लाको सदरमुकाममा जनता सुरक्षित नभएपछि जिल्लाको अवस्था कस्तो होला भनेर व्यवसायीहरु चिन्तित बनेको शर्माले बताएका छन् । शान्ती सुरक्षाको लागि प्रहरीलाई परिचालन गरी व्यासायीहरुलाई ढुक्कसंग व्यवसाय गर्ने वतावरण तयार गरिदिन शर्माले आग्रह गरेका छन् ।
शान्ती सुरक्षाको काम छोडी प्रहरीहरु सीमा क्षेत्रमा पैसा उठाउनमा व्यस्त रहेको स्थानीयहरुले बताएका छन् । स–सना व्यापारीलाई डर त्रास देखाई पैसा उठाउँदै आएका प्रहरीले जिल्लाका शान्ती सुरक्षालाई नजरअन्दाज गर्दै आएका छन् । राती–राती ठूलो मात्रामा तस्करी गराउँदै आएका प्रहरीले दिनमा स–सना व्यापारीहरुको समान नियन्त्रणमा लिएर बुझाउँदै आएका छन् ।
घुमुवा प्रहरीको आडमा डर त्रास देखाई पैसा उठाउँदै आएका प्रहरीले जिल्लाका शान्ती सुरक्षालाई व्यवस्ता गर्दै आएको स्थानीयबासीको आरोप छ । नेपाल प्रहरीले पैसा उठाउने बाहेक केही काम गर्न नसकेको स्थानीयबासीको आरोप छ ।
नेपालबाट कवाडको समान भारत लैजाने व्यापारीसंग महिनाको लाखौंको पैसा नेपाल प्रहरीले उठाउँदै आएको स्रोतको दाबी छ । फलाम, व्याट्री, तामा, प्लाष्टिकका समान, अल्मुनियमका समानहरु दैनिकरुपमा नेपालबाट भारतमा तस्करी हुदैं आएको छ । त्यसैगरी भारतबाट दैनिक रुपमा लत्ता कपडा, किरानाका समान, हार्डवेयरका समान लगायतका वस्तुहरु आयत हुदैं आएको छ । नेपाल प्रहरीले उनीहरुसंग दैनिक रुपमा लाखौं रुपैया उठाउँदै आएको स्रोतको दाबी छ ।
जिल्लाको संग्रामपुर, पर्सा, त्रिभुवननगर, मलंगवा, भाडसर, फेन्हरा, मधुवनी, बलरा लगायतका स्थानबाट प्रहरीको मिलोमतोमा दैनिकरुपमा समानहरु आयात निर्यात भइरहेको स्रोतको दाबी छ ।
यतीमात्र नभएर जिल्लाको मुद्धा मामिला पनि जिल्ला प्रहरीमा खुलेआम पैसाको चलखेल हुदैं आएको छ । मुद्धा फाँटमा कार्यरत प्रहरीले मोटो रकम लिएर मुद्धा मिलाउने काम गरेको नाम नबताउने शर्तमा एक पीडितले बताएका छन् ।
जिल्लाको बस्तु स्थितिका बारेमा आफुलाई अहिले केही थाहा नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी नायव उपरीक्षक सरोज राईले बताएका छन् । जिल्लामा भर्खर आएको हुनाले आफुलाई केही जानकारी नभएको राईले बताए ।