विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धी तालिम सुरु

सर्लाहीको लालबन्दीमा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धी तालिम सुरु भएको छ । बिहिवार बाट सुरु भएको तालिम शनिवार सम्पन्न हुनेछ । हरिपुर्वा नगरपालिकामा सञ्चालित “पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना (NRL)” अन्तर्गत राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVI Nepal) को साझेदारीमा “विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण” विषयक तीन दिने तालिम युनाइटेड होटल, लालबन्दी, सर्लाही मा सुरु भएको छ।
तालिम स्थानीय विपद् व्यवस्थापन समिति (LDMC) का सदस्यहरू र युवा स्वयंसेवकहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो।
कार्यक्रमको उद्घाटन झुमा पञ्चायतले उद्घोषण गरी शुभारम्भ गर्नुभएको थियो भने उद्घाटन सत्रमा RRPK का बोर्ड सचिव लीला पनेरुले स्वागत मन्तव्य राख्दै तालिमको उद्देश्य, महत्व र अपेक्षित परिणामहरूबारे प्रकाश पार्नुभयो।
तीन दिने तालिममा प्रशिक्षक मोहन गौतमले सहभागीहरूलाई विपद्को पूर्वतयारी, प्रतिकार्य, पुनःस्थापना, प्राथमिक उपचार तथा स्रोत परिचालन सम्बन्धी सैद्धान्तिक र व्यवहारिक सीप प्रदान गरिरहनुभएको छ। साथै समुदायस्तरको आपतकालीन योजना निर्माण, जोखिम पहिचान, र स्थानीय स्रोतहरूको उपयोग सम्बन्धी अभ्यासात्मक सत्रहरू पनि समावेश गरिएको छ।
तालिममा हरिपुर्वा नगरपालिकाका विभिन्न वडाबाट आएका २५ जना LDMC सदस्य र युवा स्वयंसेवकहरूको सक्रिय सहभागिता देखिएको छ। सहजीकरणमा फिल्ड अधिकृत रामशुशील र उमेश चौधरी सक्रिय रूपमा संलग्न हुनुहुन्छ।
उद्घाटन सत्रमा RRPK का प्रतिनिधिहरूले स्थानीय तहमा विपद् न्यूनीकरण र पूर्वतयारीमा यस्ता तालिमहरू अत्यन्तै प्रभावकारी हुने बताउँदै यस्ता अभ्यासलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभएको थियो।
तालिमको अन्तिम दिन समूहगत अभ्यास, कार्य योजना निर्माण, र प्रस्तुतीकरण सत्र समेत सञ्चालन गरिने जानकारी RRPK का परियोजना अधिकृत राजेश साहले दिनुभएको छ।