काठमाडौं महानगरको गुण्डागर्दी रोक्न माग गर्दै गृह र कानूनमन्त्री लाई ज्ञापनपत्र

काठमाडौं । कवाड व्यवसायी समाज नेपालले काठमाडौं महानगरपालिकाद्धारा व्यवसायीमाथि भइरहेको गुण्डागर्दी तत्काल रोकी शान्ति सुरक्षाको माग गर्दै गृहमन्त्री रमेश लेखक र कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियालाई ज्ञापनपत्र बुझाएका छन् ।
कवाड व्यवसायी र संकलकमाथि भईरहेको ज्यादती रोक्नको लागि उनीहरुले गृहमन्त्री लेखक र कानून मन्त्री चौरसियासमक्ष माग गरेका छन् । काठमाडौं महानगरको गुण्डागर्दी र ज्यादतीलाई तत्काल रोक्न लगाई व्यवसायीको जिउधनको रक्षाको लागी पनि उनीहरुले माग गरेका छन् । आज (शनिबार) मन्त्रीक्वार्टर पुगेर उनीहरुले विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाउने क्रममा यस्तो आग्रह गरेका हुन् ।
मन्त्रीसमक्ष उनीहरुले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा निवेदन यो छ कि हामी कवाडी व्यवसायीहरु नेपाल सरकारको प्रचलित कानून बमोजिम दर्ता रहि काठमाडौँ महानगरपालिकाको विभिन्न वडाहरुमा कवाड व्यवसाय संचालन गर्दै आएका छौ । बर्षौ देखि कवाड व्यवसाय गर्दै आएका कवाड व्यवसायीहरुले सरकारलाई तिर्नु पर्ने सम्पुर्ण कर (राजस्व) तिर्दै आएका छौं । देशमा संचालीत उद्योगहरु स्टील, वियर तथा मदिराजन्य उद्योग, कागज, प्लाष्टिक, ब्याट्री, मेटल उद्योगलाई चाहिने कच्चा पदार्थ कवाड व्यवसायीले आपूर्ती गर्दै आएको छ र देशको व्यापार घाटा कम गर्न कवाड व्यवसायको भुमिका रहेको छ । हाल यो व्यवसायमा एक लाख मानिस प्रतक्ष रोजगारमा आवद्ध रहेको कुरा यहाँलाई अवगत गराउन चाहन्छौं र वातावरणीय सरसफाईमा कवाड व्यवसायको योगदान रहेको छ ।’
अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो । ‘तथापि काठमाडौं महानगरपालिकाले विगत २ वर्ष देखी आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी सैलीमा कवाड व्यवसायी, संकलक मजदुरहरु माथी कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरु भत्काउने, संकलक र मजदुरका साईकल र समान जफत गर्ने काम गरिरहेको छ । काठमाडौं महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलहरुको टाउको फुटेको र अङ्गभङ्ग भएका छन् । खासगरी भन्ने हो भने काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौं महानगर बाट गरिब जनता गरीखाने वर्गलाई हटाउने खोजेको छ,’ गुप्ताले जनाएका छन् ।
‘कवाड व्यवसायी र संकलक माथि भईरहेको यो प्रकारको महानगरको गुन्डागर्दी ज्यादतीलाई तत्काल रोक्न लगाई व्यवसायीको जिउधनको रक्षाको लागी हामी कवाड व्यवसायी माननीय मन्त्री ज्यु समक्ष अनुरोध गर्न चाहन्छौं,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।